नेपालगन्ज ३ वैशाख : नेपालगन्जमा समुदायमै कोरोना भाइरस संक्रमण फैलिएपछि बाँको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र तदारुक्ता देखाएकोछ ।
नेपालगन्जका १५ जना शिक्षक र विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएसंगै दिनहुँ संक्रमित संख्या र मृतकको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा बिहीबार बसेको ‘जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र’ले कोरोना संक्रमण न्यूनिकरणका लागि तदारुक्ता देखाएको हो ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको बैठकले सीमा कडाई गर्नेदेखि सर्वसाधरणले माक्स लगाए नलगाएको समेत अनुगमन गर्ने निर्णय गरेको छ ।
सोही निर्णयलाई प्रभावकारीरुपमा अघि बढाउन शुक्रबार विहानैदेखि जिल्ला प्रहरी कार्यालय बाँकेले माक्स नलागाई हिड्नेलाई माक्स लगाउन आग्रह गरिरहेकोछ ।
सोक्रममा बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर राना तथा प्रदेश सभा सदस्य कृष्ण केसी ‘नमुना’ लगायतका टोलीले नेपालगन्जको धम्बोझीमा सर्वसाधरणले माक्स लगाए नलागएको चेकजाँच समेत गरेकोछ ।
सोक्रममा माक्स नलागाई हिड्नेलाई माक्स लगाएर सामाजिक दूरी र स्वास्थ्य सम्बन्धि उच्च सर्तकता अपनाउन आग्रह गरिएको थियो ।
जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले जिल्लामा बढ्दो कोरोना भाइरस संक्रमण न्यूनिकरण र यसको चेन ब्रेकका लागि अत्यावश्यक काम बाहेक भारत जान रोक लगाउने, भारतबाट आउनेहरुको अनिवार्य स्वास्थ्य चेकजाँच गर्ने, सबै आईसोलेसन पुनः सञ्चालन गर्ने, मास्क नलगाउनेलाई कारबाही गर्ने, स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न लगाउने, माक्स नलगाई ब्यवसाय सञ्चालन गरेमा एक हप्ताका लागि व्यवसाय बन्द गरिदिने, भिडभाड हुने कार्यमा रोक लगाउने निर्णय गरेको छ ।
त्यसैगरि कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सबै स्थानीय तहमा कम्तिमा ५० बेडको आइसोलेसन केन्द्र स्थापना र सञ्चालन गर्ने, नेपालगन्ज उपमहानगरपालिका भित्र साविकमा सञ्चालनमा आएका १२० वेडको ह्वाइट हाउस आइसोलेसन पुनः सञ्चालन गर्ने, कोरोना विरामी ओसारपसार गर्न प्रत्ये स्थानीय तहमा एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने, भेरी अस्पतालको १४२ बेडको आइसोलेसनमा जनशक्ति थपेर सञ्चालनका लागि तयारीमा राख्ने तथा यसअघिका जिल्लामा रहेका सबै आइसोलेसन सेन्टर, होल्डिङ सेन्टर तयारी अवस्थामा राख्ने जिल्ला संकट ब्यवस्थापन केन्द्र बाँकेले निर्णय गरेकोछ ।