बर्दिया । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बर्दियाले शिक्षा विकास तथा समन्वय इकाई बर्दियामा ज्ञापनपत्र बुझाएको छ ।
लकडाउनको कारण आम जनतालाई हातमुख जोर्न समेत मुस्किल बन्दै गइरहेको बेला विभिन्न विद्यालयले अनलाइन कक्षाका नाममा, सामुदायिक विद्यालयहरूले अङ्ग्रेजी माध्यमका नाममा चर्को शुल्क असुलिरहेको भन्दै शुल्क असुली रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
सरकारी विद्यालयहरूमा नेपाली र अङ्ग्रेजी माध्यमका नाममा गरिएको विभेदको अन्त्य गरिनुपर्ने, भौतिक रूपमा कक्षा सञ्चालन नभएको अवधिको शुल्क छुट गरिनुपर्ने, निजी विद्यालयद्वारा गरिएको पाठ्यपुस्तक र पोशाकको व्यापार बन्द गरिनुपर्ने, नेपालको चुच्चे नक्सा पाठ्यक्रम, पाठ्यपुस्तकमा समावेश गरिनुपर्ने, शिक्षक, कर्मचारीमाथिको बौद्धिक शोषण अन्त्य गरिनुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्र बुझाउँदै अखिल क्रान्तिकारीका बर्दिया-सुर्खेत इन्चार्ज लोकेश जोशीले कोरोनाका कारण दैनिक जीवनयापन समेत गाह्रो परिरहेको बेला केही निजी र सामुदायिक विद्यालयहरूले लुट मच्चाईरहेको भन्दै अविलम्ब रोक्न माग गर्नुभयो ।
ज्ञापनपत्र बुझ्दै शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका प्रमुख रेविका अमात्यले शैक्षिक विकृत्ति नियन्त्रण गर्न अखिल क्रान्तिकारीसंग सहकार्य गरेर काम गर्ने बताउनुभएको छ ।
कार्यक्रममा अखिल क्रान्तिकारी सुर्खेत बर्दिया इन्चार्ज लोकेश जोशी, जिल्ला अध्यक्ष हरिशंकर प्याकुरेल लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
हेर्नुहोस् अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बर्दियाले बुझाएको ज्ञापनपत्र