जया चौधरी
प्रशिक्षार्थी पत्रकार
बाँके, नेपालगन्ज । सधैंजसो बिहान मर्निङवाकमा निस्केको बेलामा जताततै देखिने एउटै दृश्यले अचम्मित तुल्याउँछ, त्यो कुनै नौलो कुरा नभएर झिसमिसे उज्यालो सँगै लाेटा बाेकेर हिड्ने जमातको दृश्य हो जसलाई एउटा चर्पिको अभाव छ । यसरी हेर्दा यो कुरा सामान्य भएपनि निकै असामान्य बिषय हो ।
नेपाल दक्षिण एसियाको पहिलो खुल्ला दिसा मुक्त देशमा सूचिकृत भइसक्दा पनि व्यवहारमा भने लागु हुन सकेको छैन, केवल नारामा मात्र सिमित रहेको छ । खुल्ला दिसा मुक्त घोषणा गर्ने होडबाजी मात्र छ तर व्यवहारिकतामा अहिलेसम्म कुनै उपलब्धि हात लागेको छैन ।
नेपालगन्ज उपमहानगरपालिकाको हकमा सन् २०१७ मा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको भएतापनि स्थिति जहाँको त्यहीँ छ, हतार हतारमा मापदण्ड नपुगि खुल्ला दिसा मुक्त घोषणा गरिएको स्थानीयबासीको गुनासो छ। वडा नं १३ बस्ने बर्ष ४० कि सुस्मिता भन्नुहुन्छ,"म व्यापार व्यवसाय सञ्चालन गर्ने व्यक्ति हु हाम्रो टोलमा धेरै जसो मानिसहरू छिमेकीको घरमा कि त बाहिर खुल्ला ठाउँमा शौचालय जाने गरेको छन, बजार एरियामा पनि पसलमा आउने गा्ाहक र व्यापार व्यवसायी स्वयम खुल्ला ठाउँमा शौचालय जाने गरेको देख्छु ।"
तस्बिर: नेपालगन्जको एक सार्वजनिक सौचालयको अवस्था
नेपालगन्ज उपमहानगरपालिकाले खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्यो तर व्यवहारमा अहिलेसम्म ल्याउन सकेको छैन केवल कागजी चर्पि बनाउदै पैसा कुम्ल्याउने जमात हावी देखिन्छ । किन हुदैन खर्चको पारदर्शिता ?, किन हुदैन अनुगमन ? यो आम जनताको प्रश्न हो तर उत्तर दिने जिम्मेवार निकाय कानमा तेल हालेर बसेको छ।
रिक्सा चालक ५० वर्षिय अनुवर खाँ को पिडा पनि उस्तै छ उहाँ भन्नुहुन्छ,"मेरो बुढा बा-आमा छन् मेरो आर्थिक अवस्था कमजोर छ घरमा चर्पी बनाउन सकेको छैन दिसा पिसाब गर्न धेरै समस्या छ हजुर ।"
यसरी आर्थिक अवस्था कमजोर भएको परिवारलाई शौचालय निर्माण सामाग्री वितरण नगरेको र वितरण गरिएको सामाग्रीको प्रयोग भए नभएको अनुगमन निरीक्षण नहुने भएकाले पनि खुल्ला दिसा मुक्त अभियान साच्चिकै नारामा मात्र सीमित रहेको छ भन्ने शङका उत्पन्न हुन्छ ।
तस्बिर: चर्पी नबनाएर थन्काइएको सिमेन्टका रिंङ्ग
नेपालगन्ज उपमहानगरपालिकाको सार्वजनिक शौचालयको अवस्था पनि उस्तै छ शौचालय को प्रयोग सरसफाई व्यवस्थित तरिकाले नहुँदा बटुवाहरू खुल्ला ठाउँमा लाज पचाएर शौच गर्ने गर्दछन् । सार्वजनिक शौचालयको अवस्था हेर्दा न त सफा छ न साबुन पानीको व्यवस्था छ । यसबाट स्वास्थ्यमा निकै ठूलो चुनौति थपिएको छ।
खुल्ला दिसा मुक्त अभियानमा संलग्न स्थानीय निकाय, सरकारी निकाय, गैर-सरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अरबौं रुपैयाँ लगाइरहेका छन् निती-नियम बनाएर जरिवाना पनि ताेकेका छन् तर अहिले सम्म सबै प्रतिवद्धतामा मात्र सीमित रहेको पाइन्छ।
सरोकारवालाहरुले भने जनचेतना र सचेतनाकाे कमीले गर्दा सुरुवातको चरणमा कार्य सम्पादन गर्न गाह्रो भएको बताउँछन त्यसकारण सर्वप्रथम जनचेतना सम्बन्धि कार्यक्रमहरु गरेर टाेल समाजमा सचेतना ल्याउनु पर्ने देखिन्छ ।
खुल्ला दिसा मुक्त अभियान याे स्मार्ट सिटीकाे लागि निकै चुनौतिपूर्ण रहेको विश्लेषकहरुको विचार छ । यसको लागि सम्बन्धित निकायले बेलैमा उचित किसिमको कार्ययोजना बनाई कार्यसम्पादन गरेर यो खुल्ला दिसा मुक्त अभियानलाई सफल बनाउन सक्रियतापूर्वक लाग्नु पर्ने देखिन्छ ।
नेपालगन्ज उपमहानगरपालिकाको जनप्रतिनिधि,सराेकारवाला र नगरवासीबिच नगर प्रमुख डा.धवल शमशेर राणाले तेह्रबुदे प्रतिबद्धता सहित २३ हजार तिन सय २८ घरधुरीलाई शौचालय निर्माण भएको बताउँदै अनौपचारिक रुपमा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्नुभएको थियो । तर व्यवहारिक रुपमा ति सबै प्रतिवद्धताहरु लागु नभएपछि खुल्ला दिसा मुक्त क्षेत्र नारामा मात्रा सिमित भएको छ ।