पूर्वयुवराज पारस शाह र सडकमा ड्यूटीमा रहेका प्रहरीबीच भएको भनाभन तथा विवादबारे अहिले सामाजिक सञ्जालमा व्यापक बहस भइरहेको छ। धेरैले पारसलाई तत्काल कारबाही गर्न भनेका छन् भने कतिपयले उनको बचाउ पनि गरेका छन्।
तर यो बहस विस्तारै फेरि राजतन्त्र र गणतन्त्रात्मक व्यवस्थाका बारेमा हुन थालेको छ। कतिपय मानिसले यो बहसमा विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई जोडेका छन्। मिश्रले केही दिन अघि ‘हिन्दु धर्म र राजतन्त्रका बारेमा जनमत संग्रह गर्नुपर्ने’ आशयको एउटा अवधारणापत्र सार्वजनिक गरेका थिए।
के भएको थियो?
शुक्रबार साँझ ७ बजेतिर चक्रपथको नारायणगोपाल चोक। पारसले हेलमेट नलगाइ मोटरसाइकल हाँकिरहेका थिए।
चोकमा ड्यूटीमा रहेका प्रहरीले उनलाई रोके। त्यसपछि विवाद सुरु भएको हो। सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा विवाद बढ्दै जाँदा प्रहरीले उनलाई हात समाएर तानेको देखिन्छ।
तर पारसले भने ‘छोड् जान्नँ’ भनेका छन्।
हेलमेट नलगाइकन मोटरसाइकलमा हिँडेका पारसलाई नियन्त्रणमा लिने क्रममा महाराजगन्ज चक्रपथ क्षेत्रमा उनले प्रहरीलाई हातपात गरेका हुन्।
पत्रकार गणेश बुढाले आफ्नो फेसबुकमार्फत् सार्वजनिक गरेको भिडियोमा मादक पदार्थ सेवन गरेका पारसले प्रहरीलाई लछापछार पारेको देखिन्छ। उनले आफ्नो हात समाएका प्रहरीलाई ‘छाड’ भन्दै उम्किने प्रयास गरेका थिए।
भिडियोमा पारसलाई नियन्त्रणमा लिने प्रहरीले आफनो सञ्चारसेटमार्फत् ‘यहाँ एक मान्छेले रक्सी खाएर लफडा गरिरहेको छ गाडी पठाइदिनु्पर्यो’ भन्दै गाडी मगाएको सुनिन्छ। तर पारसले भने पटकपटक जान्नँ–जान्नँ भनेका थिए।
त्यसक्रममा मानिसको भीड जम्मा भइसकेको थियो। केहीले सर्वसाधारण भएको भए तुरुन्त चौकीमा लगिन्थ्यो भन्दै पारसलाई उन्मुक्ति नदिन दबाब दिएका थिए। तर गाडी आएन र सडकमा जामसमेत हुन थालिसकेको थियो। त्यहीबीचमा प्रहरीले पारसलाई छाडिदिए। अनि, पारस पुनः हेल्मेट नलगाई मोटरसाइकलमा बसेर आफ्नो गन्तव्यतिर लागे।
महानगरीय प्रहरी परिसरले भने पारसलाई सम्झाएर छाडिएको जनाएको छ।