नेपालगञ्ज । अख्तियारमा प्रत्येक बर्ष उजुरीको संख्या बढ्दै गएको छ । उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहका छन् । बाँकेका आठ स्थानीय तहमध्ये कोहलपुर नगरपालिकाको सबैभन्दा बढी उजुरी अख्तियारमा छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा कोहलपुरका १६ उजुरी फर्छयौट हुन बाँकि छ । दोस्रोमा राप्तीसोनारी गाउँपालिका छ, जसका ११ उजुरी छन् । त्यस्तै तेस्रोमा १० वटा उजुरीसहित नेपालगञ्ज उपमहानगरपालिका छ ।
खजुरा र जानकी गाउँपालिकाका ७/७ वटा, डुडुवाको ५, बैजनाथको ३ र नरैनापुरको २ वटा उजुरी फर्छयौट हुन बाँकि रहेको अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जले जनाएको छ । त्यस्तै बर्दियाको बढैयाताल गाउँपालिका, दाङको तुलसीपुर उपमहानगरपालिका र राजपुर गाउँपालिकाको उजुरी पनि बढी छ ।
आर्थिक बर्ष २०७/७७८ को बार्षिक प्रगति सार्वजनिक तथा सञ्चारकर्मी भेटघाट कार्यक्रममा कार्यालय प्रमुख कृष्ण कुमार निरौलाले ४ वटा जिल्ला कार्य क्षेत्र रहेको नेपालगञ्ज कार्यालयमा सबैभन्दा बढी उजुरी बाँकेका छन् । उहाँका अनुसार बाँकेका ३४४ उजुरी मध्ये २२४ को छानविन सम्पन्न भएको छ ।
त्यस्तै दाङका २४५ उजुरी मध्ये १५१ उजुरीको छानविन सम्पन्न भएको छ । बर्दियाका १८० उजुरीमा १२४ फर्छयौट भएका छन् । गत बैशाखदेखि मात्र नेपालगञ्ज कार्यालयको कार्य क्षेत्रमा परेको रोल्पामा भने ७ उजुरीमा ४ को छानविन सम्पन्न भएको छ । गत बार्षिक बर्षमा नेपालगञ्ज कार्यालयले ३ वटा स्टिङ अपरेशन गरेको छ ।
गएको बर्ष स्थानीय तहका सबैभन्दा बढी २५२ उजुरी परेका थिए । ती मध्ये १५४ फर्छयौट भएको निरौलाले जानकारी दिनुभयो । त्यस्तै स्थानीय तह अन्तर्गत् शिक्षाका १२१ उजुरी परेकोमा ८२ वटा फर्छयौट भएको छ । आर्थिक बर्ष २०७७/७८ मा ४ वटा जिल्लाबाट ७७६ उजुरी परका थिए । ती मध्ये ५०३ फर्छयौट भएका छन् ।
सम्पर्क कार्यालय नेपालगञ्जका अनुसार विकास योजनामा बास्तविक सम्पन्न कार्य भन्दा बढी रकम भुक्तानी गरेको र न्यून गुणस्तरीयरुपमा सम्पन्न गरेको, सार्वजनिक खरिद ऐनको पालना नगरी खरिद कारवाही गरिएको, झुठा बिल भरपाई, बास्तविक भन्दा बढी खर्च देखाई अनियमितता गरेको, कर्मचारी भर्ना गर्दा योग्यता प्रणालीको बर्खिलाप हुने गरी भर्ना गरेको, स्विकृत दरबन्दी विपरित भर्ना गरेको, सार्वजनिक जग्गाको अनाधिकृत कब्जा, अतिक्रमण र दर्ता सम्बन्धि, पदीय दायित्व पालना नगरेको, अनुचित कार्य सम्बन्धि, अकुत सम्पत्ति आर्जन, झुठा शैक्षिक प्रमाणपत्र लगायतका विषयमा बढी उजुरी परेका छन् ।
कार्यालय प्रमुख निरौलाले प्रबद्र्धनात्मक, निरोधात्मक र दण्डात्मक कार्यहरु गरिरहेको बताउनुभयो । उहाँले आयोगमा गोलमटोल उजुरी बढी आउने गरेको जानकारी दिँदै कार्यबोझ बढी हुँदा भनेजस्तै काम हुन नसकेको बताउनुभयो । ४० जना कर्मचारीको दरबन्दी रहेको नेपालगञ्ज कार्यालयमा अहिले ३२ कर्मचारी रहेको जानकारी दिँदै उहाँले प्रयोगशाला सञ्चालन गरिएपनि प्राविधिकहरुकै दरबन्दी खाली रहेकाले काममा अप्ठेरो परेको बताउनुभयो ।