बर्दिया । बिश्वब्यापी रूपमा बढिरहेको कोरोना भाइरस कोभिड-१९ ले पर्यटन ब्यवसायमा पनि असर गरेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रमा करोडौंँ लगानी गरि खोलिएका होटेलहरु लकडाउनका कारण पर्यटकहरुको आगमन नभएपछि ठप्प भएका छ्न । होटेलहरु ठप्प भएपछि पर्यटन व्यवसायीहरु संकटमा परेका छ्न। पर्या-पर्यटन बिकास मंचका अध्यक्ष तथा जंगल हेभेन होटेल एण्ड कटेज संचालक कृष्ण प्रसाद भट्टराईका अनुसार ढोकै लगाएर बस्नुपर्ने अवस्था आएको छ ।
पर्या-पर्यटन बिकास मंचका अध्यक्ष तथा जंगल हेभेन होटेल एण्ड कटेज संचालक कृष्ण प्रसाद भट्टराई
राष्ट्रलाई सहयोग पुर्याइरहेका पर्यटन उधोगलाई यस्तो बेलामा संरक्षण गर्न सकिएन भने नेपाल सरकारको कर समेत गुम्ने खतरा उत्पन्न भएको छ । पर्यटन व्यवसायको अवस्था नाजुक भएपछि बैंकको ब्याज तिर्न नसक्ने अवस्था आएकोले सरकारले पर्यटन ब्यवसायीहरुको ब्याज मिनाहा गर्ने गरी प्याकेजमा राहत ल्याउनुपर्ने पर्या-पर्यटन बिकास मंचका अध्यक्ष भट्टराईको भनाइ छ ।
त्यस्तै होटेल गैँडा क्याप संचालक रामजी थापा भन्नुहुन्छ - "दोस्रो चरणको कोरोनाको लहरले हामी पर्यटन व्यवसायी मारमा परेका छौँ बरु सरकारले कुनै प्याकेज ल्याइदिए बन्द भएका होटेलहरुलाई आइसोलेसन वार्ड बनाइ संचालन गर्ने थियौँ । यस तर्फ सरकारको ध्यान जाओस् ।"
होटेल गैँडा क्याप संचालक रामजी थापा
त्यसै गरि थारु होम रिसोर्टका संचालक पर्यटन ब्यवसायी मोहन थारु भन्नुहुन्छ- "सरकारले कोरोना संक्रमणको चेन ब्रेक गर्न लकडाउन गर्ने बित्तिकै पर्यटक आगमन ठप्प भयो । आन्तरिक पर्यटकमा निर्भर रहेका होटेलहरु फेरि थला परेका छन ।"
पर्यटन व्यवसायीहरूले ऋण धन गरेर आफ्नो व्यवसाय सुचारु गर्न गरेको लगानी उठाउन सक्छन या सक्दैनन भन्ने प्रश्न चिन्ह खडा भएको छ । ऋण तिर्न नसकेपनी भोलि अवस्था सुध्रेला र कमाउँला भन्ने वातावरण सरकारले बनाइदिनुपर्ने यहाँका व्यवसायीहरुको माग छ । यस क्षेत्रमा अर्बौंको लगानी भएको छ भने प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हजारौंले रोजगारी पाएका छन । सरकारले समयमै ध्यान पुर्याउन सकेन भने यस ठाउँको पर्यटनलाई उकास्न गाह्रो हुने र यस ठाउँका पर्यटन व्यवसायीहरु पलायन हुने अवस्था आउने यहाँका व्यवसायीहरुको बुझाइ छ ।