तस्वीर - हात्ती गाउँ पसेपछि त्रसित अवस्थामा स्थानीय
बर्दिया । जिल्लाको मधुवन नगरपालिकाको वडा नं.- १, २ र ३ मा हात्ती आतंक अत्याधिक मात्रामा बढेको छ । भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षबाट खाता जैविक मार्ग हुदै मधुवन नगरपालिकाका विभिन्न वडाका खेत बारीमा पसि धान र मकै खाई नष्ट गर्ने गरेको छ । गत शनिबार देखि प्रत्येक दिन जसो जंगली हात्ती गाउँ पस्न लागेपछि यहाँँका स्थानीय त्रसित अवस्थामा रहेका छन ।
हात्ती गाउँ पस्न थालेपछि डर र त्रासले स्थानियहरु रातभर नसुतेर कुरुवा बस्ने गरेका छन । किसानले लगाएका अन्नबालि हात्ती आएर नष्ट गर्न लागेपछि यहाँँका किसानहरु आहत छन ।
खाता जैविक मार्ग र बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका बासिन्दा बर्सौ देखि जंगली जनावर हात्ती, बाघ, चितुवा, गैडा, चित्तल र बंदेलबाट पीडित रहेका छ्न । मानव - वन्यजन्तु द्वन्द न्युनिकरणका लागी लगाइएको फेन्सिङ्ग सोलार, मेस वायर जालीको मर्मत सम्भार नहुँदा जंगली जनावर खेत बारीमा पस्ने गरेको खाता सामुदायिक वन समन्वय समिति मधुवन नगरपालिका वडा नं.-३ खाता, बर्दियाका अध्यक्ष बलिराम चौधरीले बताउनुभयो ।
तारा प्रसाद थारु
मधुवन नगरपालिका वडा नं.-१ सुर्यपटुवा, कुसुम्माका पीडित किसान
मधुवन नगरपालिका वडा नं.-१ सुर्यपटुवा, कुसुम्मा निवासी पीडित किसान तारा प्रसाद थारु भन्नुहुन्छ, "सकेसम्म जति सक्दो चाडो मेस वाईर जाली लगाईदिनु पर्यो । प्रत्येक बर्ष उत्पादन भएको बाली घर भित्र्याउन हम्मे-हम्मे पर्दछ। रातभरी जागाराम बसेर अन्नबाली बचाउन हामी बाध्य भएका छौँ । हामीले लगाएको अन्नबाली जति जंगली जनावरले खाईदिन्छ । हाम्रो पिडा बुझिदिनुपर्यो, हात्ती धपाउन ज्यान फाल्नु पर्ने हाम्रो बाध्यता र नियति बनेको छ । धान कि ज्यान के रोज्ने हामी विवस छौ । हाम्रो समस्या कसैले सुनिदिएको छैन । हामी किसान कहिले मल-बिउको समस्या कहिले जंगली जनावरबाट हामी पीडित हाम्रो पिर मर्का कस्ले सुन्ने ?"
फरारी थारु
मधुवन नगरपालिका वडा नं.-१ सुर्यपटुवा, कुसुम्माका पीडित किसान
मधुवन नगरपालिका वडा नं.-१ सुर्यपटुवा, कुसुम्माका पीडित किसान फरारी थारु भन्नुहुन्छ, "जंगली हात्तीले धान मकै त कति कति खायो साध्य छैन राहत भने शुन्य छ । हाम्रो दुखेसो कस्ले सुन्छ र ? अन्नबालि रोप्यो जंगली जनावरले खाईदिन्छ, नरोप्ने हो भने के खाने भोकमरीले सताउने डर छ । हामी धेरै दुखि छौ । राज्यले मेस वाईर जाली सोलार फेन्सिङ्ग जडान गरिदिए केहि राहत महसुस हुने थियो । हाम्रो समस्या कस्ले बुझिदिने ? नेपाल सरकारले वन्यजन्तुबाट क्षति राहत बर्षमा दुई पटक मात्रै दिने गरेको छ भने जंगली जनावरले एकै बाली पटक पटक आई खाई नष्ट गरिदिने गरेको छ। मधुवन नगरपालिकाले भने नगर क्षेत्रभित्र जंगली जनावरले अन्नबालि, पशुचौपाया, घर क्षति गरेमा नगरपालिकाले राहत दिने गरेको छ ।"
राम सेवक थारु
मधुवन नगरपालिका वडा नं.-१ सुर्यपटुवा, कुसुम्माका पीडित किसान
मधुवन नगरपालिका वडा नं.-१ सुर्यपटुवा, कुसुम्माका राम सेवक थारु भन्नुहुन्छ, "हामीलाई जंगली जनावरबाट बचाउन सरकार सामु अनुरोध गर्दछु । सकेसम्म सरकारले सोलार मेस वाईर जाली लगाईदिएमा जंगली जनावरबाट बाच्न सकिन्छ । जंगली जनावरबाट हामी यस क्षेत्रका किसानहरु बर्सौदेखि पीडित छौ तर राहतको नाममा केहि पनि राज्यले दिने गरेको छैन।राहत भन्दा पनि मेस वाईर सोलार फेन्सिङ्ग तार जडान गरिदिएमा केहि राहत मिल्ने थियो । लगाएको अन्नबालि भित्र्याउन धेरै जंगली जनावरसङ्ग संघर्ष गर्नुपर्दछ।
दिल बहादुर चौधरी
मधुवन नगरपालिका वडा नं १
वडा सदस्य
मधुवन नगरपालिका वडा नं १ का वडा सदस्य दिल बहादुर चौधरी भन्नुहुन्छ, "वडाका तर्फबाट किसानलाई टर्च लाईट वितरण गर्छौँ । हात्ती गाउँ पस्दा सहयोगका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट आएका नेपाली सेना आफै डरले जनतालाई अगाडि लगाएर आफु चाहिँ पछि लाग्ने काम गर्छन् । मलाई यो कार्य चित्त बुझेन, जोसङ्ग हातहतियार छ उनि चाहि पछि लाग्ने जनतालाई मर्न अगाडि पठाउने ?"