नेपालगन्ज ३ वैशाख : भेरी अस्पताल नेपालगन्जको ल्याबमा पीसिआर जाँच गर्दा एकैदिन ठूलो मात्रमा कोरोना संक्रमित फेला परेकाछन् ।
भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा गरिएको पीसिआर परीक्षणमा एकै दिन ठूलो मात्रामा कोरोना संक्रमित फेला परेपछि बाँकेमा कोरोना भाइरस समुदायमै फैलिएको पुष्टि भएकोछ । यद्यपी यहाँका चिकित्सकहरुले कोरोना भाइरस संक्रमण समुदायमै फैलिसकेको बताएकाछन् ।
भेरी अस्पताल नेपालगन्जको ल्याबमा १८३ जनाको स्वाब परीक्षण गर्दा १२७ जनामा कोरोना पुष्टि भएको हो । यो संख्या अहिलेसम्मकै उच्च हो । यसरी कोरोना संक्रमित देखिनेमा बाँकेको नेपालगन्जका धेरै संख्या रहेकाछन् । त्यसैगरी कोहलपुर र खजुराका धेरै ब्यक्तिमा कोरोना पुष्टि भएको छ ।
भेरीको ल्याब रिर्पोट हेर्दा बाँकेको डुडुवा, जानकी, राप्तीसोनारी लगायतका पालिकामा समेत कोरोना भाइरस संक्रमण देखिएकोछ । यस्तै बर्दियाको गुलरिया, बारबर्दिया, बाँसगढी लगायतका क्षेत्रका ब्यक्तिमा समेत कोरोना पुष्टि भएकोछ । समुदायमै तीव्र रुपले फैलिएको कोरोना संक्रमणको असर यतिबेला यहाँका विद्यालयहरुमा समेत देखिएको छ । नेपालगन्जका करिव आधा दर्जन विद्यालयमा शिक्षक र विद्यार्थी गरी १५ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर शिक्षा प्रमुख गोरखबहादुर थापाका अनुसार स्थानीय धम्बोझी माध्यामिक विद्यालय, मंगलप्रसाद माध्यामिक विद्यालय, सेन्टथोमस बोर्डिङ स्कुल, वाटरपार्क, महेन्द्र र आर्दश माध्यामिक विद्यालय, र सनविम माविका शिक्षक तथा विद्यार्थीलाई कोरोना संक्रमण भएको नगर शिक्षक प्रमुख थापाले जानकारी दिए ।
‘यसका अलावा अरु थुप्रै विद्यालयमा शिक्षक र विद्यार्थीलाई कोरोना संक्रमण भएपनि सार्बजनिक भएको छैनन्, हामीले पत्ता लगाउने प्रयास गरिरहेका छौं,’ थापाले भने ‘नेपालगन्जका धेरै जसो विद्यालयमा भित्र–भित्रै कोरोना संक्रमण फैलिसकेको छ, स्थिती निकै खतरनाक छ ।’
कोरोना संक्रमण फैलिरहँदा पनि नेपालगन्जका विद्यालय निर्वाधरुपमा सञ्चालन भइरहेकाछन् । भेरी अस्पतालका अनुसार कोरोना भाइरसका नयाँ संक्रमित मध्ये अधिकांस शिक्षक, विद्यार्थी र अभिभावक रहेका छन् । कतिपय विद्यालयहरुले स्वास्थ्य मापदण्ड पालना गरेपनि अधिकांसले मापदण्डलाई लत्याउँदै आएका छन् ।