दाङ । दाङको देउखुरीमा सामुदायीक वन उपभोक्ता समुहका पदाधिकारीको मिलोमतोमा अवैध रुपमा काठ कटान गरिएको पाइएको छ ।
राजपुर गाउँपालिका–५ मा रहेको मैनिहवा सामुदायीक वन उपभोक्ता समुहका पदाधिकारीहरुलेनै प्रक्रिया पुरा नगरेर काठ कटान गरेको खुल्न आएको छ ।
प्रक्रिया पुरानै नगरेर कटान गरेको काठ घाटगद्धी गरिएको स्थलमा ४ सय ८३ क्यूफिट बढी काठ कटान गरेको भेटिएको छ भने कटान गरेको स्थानमा अझै केही काठ रहेको बुझ्नमा आएको छ ।
अवैध काठ कटानको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछी बुधवार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले समेत घटनाबारे जानकारी लिनुभएको छ ।
काठ कटानमा संलग्नहरुको पहिचानगरी कानुन वमोजिम कारबाही प्रक्रिया अघि बढाउन वन कार्यालयका प्रमुखलाई निर्देशन दिएको कुरुम्वाङको भनाइ छ । "सामुदायीक वनका पदाधिकारीको पहिचान हुन्छ उहाँहरुलाइ कानुन अनुसारको कार्बाही हुन्छ " - कुरुम्वाङ भन्नुहुन्छ ।
यता डिभिजन वन कार्यालयले काठ कटानको लागी सहमती दिनुपर्ने कानुनी प्राबधान छ । सामुदायीक वन उपभोक्ता समुहले वन कार्यालयको सहमती नलिएर काठ कटान गरेको पाइएपछि अनुसन्धान थालिएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख बेसिन्द्रराज सुवेदीले जानकारी दिनुभयो ।
गत साउन २५ गते वडा कार्यालय छेउँको खाली जग्गामा काठ घाटगद्धी गरेपछी काठ कटानको रहस्य खुलेको हो । सव डिभिजन वन कार्यालयले बरामद मुचुल्का तयार पारेर रेखदेखको जिम्मा सामुदायीक वन समुहलाईनै लगाएको थियो ।
सामुदायीक वन उपभोक्ता समुहले भने उपभोक्ताको भेला र सहमती गरेर ढलापढा रुखहरु कटान गरेर सार्वजनिक स्थलमा डम्पिङ्ग गरेको बताएको छ ।
उपभोक्तालाई वितरणको लागी कोरिया खोलाले बगाएको, आगलागीमा परेर जलेका रुखहरु कटान गरेर काठ सुरक्षीत गरेको दावी गरेको छ ।