दाङ । लमही नगरपालिका वडा नम्बर ५ लमही बजार देखि १ किलोमीटर पूर्व राजमार्ग देखि ५०० मिटर भित्र जङ्गलमा ठुला ठुला पोखरी खनिएको छ । वन्यजन्तुलाई जंगल भित्रै खानेपानीको व्यवस्थापन गर्न उक्त पोखरी तयार पारिएको हो ।
पानी खानको लागी राजमार्ग पार गरेर खोला तथा बस्तीमा पस्ने जंगली जनावरलाई अव जंगल भित्रै आकासे पानीलाई संचित गर्ने उद्देश्यले उक्त पोखरी निर्माण गरिएको हो । डिभिजन वन कार्यालय देउखुरीले देउखुरीका विभिन्न स्थानमा गरि आधा दर्जन भन्दा धेरै स्थानमा जंगल भित्रै संरक्षण पोखरी निर्माण गरेर जनावरलाई पानी व्यवस्थापन गरिदिएको छ ।
लमही नगरपालिका वडा नं. ५ स्थित पारिजात महिला सामुदायीक वन उपभोक्ता समुह भित्र संरक्षण पोखरी निर्माण गरिएको छ । वन क्षेत्र भित्रको खाली जमिनलाई पोखरीको आकार दिएपछि आकाशेपानी जम्मा भएको छ । डिभिजन वन कार्यालय देउखुरीले आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक स्विकृत कार्यक्रम अनुसार यहाँ पोखरी निर्माण गरेको हो । पोखरी निर्माण भएपछी जंगली जनावरलाई पानीको लागी सजिलो भएको सामुदायीक वन उपभोक्ता समुहका सचिव लक्ष्मि शर्मा बताउनुहुन्छ ।
"चैत बैशाखको खडेरीमा पानी खोज्दै बन्यजन्तु भौतारिने अवस्था थियो अब जंगली जनावरले जंगल बिचकै पोखरीमा पानी पिउन पाउने छन", शर्माले भन्नुभयो ।
सामुदायीक वन भित्र निर्माण गरिएको पोखरी बहुउद्देश्यीय प्रयोजनको दृष्टिकोणले बनाइएको छ । वन्यजन्तुलाई पानी खान सजिलो हुने त छदैछ यसले जमिनमुनीको पानीको स्रोत संरक्षणमा समेत सकारात्मक प्रभाव पार्ने देखिएको छ । पोखरी बनेपछी पर्यटकहरु अवलोकनको लागी समेत पुग्न थालेका छन् । पोखरीले पर्यटकलाई समेत भित्र्याउन मद्धत गरेको स्थानीय उपभोक्ता गङ्गाराम भट्टराई बताउनुहुन्छ । "निर्माण भएका पोखरीलाई उचित व्यवस्थापन गरेर यो स्थानलाई पर्यटनक्षेत्रको रुपमा बिकास गर्न सकिन्छ " - भट्टराई भन्नुहुन्छ ।
डिभिजन वन कार्यालयल देउखुरीले लमही नगरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका भित्रका विभिन्न सामुदायीक वन उपभोक्ता समुहमा आधा दर्जन बढी संरक्षण पोखरी निर्माण गरेको छ । यसरी पोखरी निर्माण गर्दा वन्यजन्तुलाई पानी उपलब्ध भएको छ भने, जमिनमुनीको पानी संरक्षणमा सहयोग पुगेको रेञ्जर हरि पौडेल बताउनुहुन्छ ।
जंगली जनावरहरु पानीको खोजिमा खोला तथा तलाउ खोज्दै राजमार्ग हुँदै गाउँ बस्तिमा पुग्ने भएका कारण राजमार्गमा सवारी साधनको ठक्कर बाट मर्ने तथा घाइते हुने अबस्थामा र गाउ बस्तीमा जंगली जनाबरको भय हुने अबस्था देखिदै आएको थियो ।
पोखरी निर्माण भए संगै जंगली जनावरको सुरक्षा र त्रास कम गर्न यी पोखरीहरु उपयोगी हुने देखिन्छन ।