काठमाडौँ । काठमाडौँ उपत्यकाकै पुरानो शहर पाटनको मङ्गलबजारस्थित कृष्ण मन्दिर बाहिर भक्तजनको घुइँचो लागेको छ ।
हरेक वर्ष भाद्र कृष्णअष्टमीका दिन यहाँ मेला लाग्ने भएकाले कोरोना महामारीको प्रवाह नगरी आज पूजा तथा दर्शनका लागि भक्तजनको भीड लागेको हो ।
कृष्णको पूजा तथा दर्शनका लागि मन्दिर बाहिर एक कलशमा पूजा गर्ने व्यवस्था मिलाइएको पुजारी प्रतापधर राजोपाध्यायले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मन्दिरका १२ पुजारीले लगभग दिउँसो ११ बजेसम्म नित्य पूजा सकेर दिउँसो लगभग तीन घण्टा विष्णु रुद्धि गर्ने भएका छौँ ।” नियमानुसार मन्दिरमा गए राति बाह् बजेपछि कृष्णको पूजा गर्नुपथ्र्यो तर कोरोनाको महामारीलाई ध्यानमा राखी बिहान ५ बजे सम्पन्न गरेर सर्वसाधारणलाई पनि मौका दिइएको पुजारी राजोपाध्यायको भनाइ थियो ।
भरे बेलुका मध्यान्न १२ बजे कृष्णको जन्म भएपछि एक पटक आरती गर्ने अनि महाप्रसादका रुपमा अदुवा, चाकु, नून र ज्वानो खाने चलन छ । यो जात्रा छोटकरीमा गर्ने सहमति भएकैले ६० स्वयंसेवक खडा गरी एकै लाइनमा महिला र पुरुषलाई दर्शनका लागि बाहिरै व्यवस्था मिलाइएको मङ्गल टोलसुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले बताउनुभयो ।
पहिले झै गत वर्ष र यस वर्ष पनि मन्दिरमा ठूलो भीडभाडका साथ दर्शनार्थीको उपस्थिति नभए पनि पाटन दरबार सङ्ग्रहालय परिसर भने पूरै भरिभराउ छ ।
मन्दिर आएका प्राय सबै भक्तजनको हातमा कृष्णले शिरमा सधैँ सजाउने मयुरको प्वाँख अनि प्रिय बाजा बाँसुरी पनि देख्न पाइन्छ ।
मन्दिर परिसरमा भजनका साथै कीर्तन अनि दीप प्रज्वलन गर्ने मानिस पनि उतिकै देखिन्छन् । दर्शनार्थीलाई टीका लगाइदिने पुरोहित पनि ठाउँठाउँमा बसेका छन् ।
महामारी सुरु हुनुअघि लगनखेलदेखि मङ्गलबाजरसम्म दर्शन गर्न आउने मानिसको घुइँचो हुने गथ्र्यो तर त्यत्तिको घुईचो यो वर्ष भने छैन ।
आजका दिन साना बालबालिकलाई पहेँलो कपडा र शिरमा प्वाँख लगाई हातमा बाँसुरी दिने चलन रहेकाले केही परिवारले आफ्ना बालक सजाएर मन्दिर ल्याएको पनि देखिन्छ ।
कृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गको स्मरणस्वरुप भगवानको प्रेम उत्सव अर्थात झुला झुलाउने व्यवस्था भने यसवर्ष मन्दिर परिसरमा देखिएन ।
मन्दिर व्यवस्थापनका लागि विभिन्न संस्थाका प्रतिनिधिका साथै नेपाल प्रहरी र स्थानीय बासिन्दा लागि पनि सक्रिय देखिन्छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोत्रारात्रि’ भन्ने गरिन्छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको पौराणिक कथन छ ।
मन्दिर रहेको पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा सूचिमा राख्नाका साथै विश्व हस्तकला परिषद्ले ३५औँ कला नगरी समेत घोेषणा गरिसकेको छ । कृष्ण मन्दिर पाटनको सबैभन्दा महत्वपूर्ण क्षेत्र दरबार स्क्वायर परिसरमा छ ।
कोरोना महामारी अघि हरोक दिन थुप्रै स्वदेशी तथा विदेशी पर्यटक घुम्न अध्ययन गर्न र आराम गर्न आउने गर्थे ।
मन्दिरसहित पाटन दरबार क्षेत्रमा चारनारायण, दरबार सङ्ग्रहालय, अशोक स्तम्भ तथा हिरण्यवर्ण महाविहारसमेत छन् । कृष्ण मन्दिर पाटनका राजा सिद्धिनरसिंह मल्लको पालामा निर्माण भएको हो । नेपालमा शिखर शैलीमा ढुङ्गै ढुङ्गाबाट निर्मित २१ गजुर भएको मन्दिरका रुपमा यो मन्दिर परिचित छ ।
कृष्णको पूजा अनि आरधना गर्नाले पाप नष्ट भएर मोक्ष प्राप्त हुने विश्वासका साथ हिन्दूलगायत शैव अनि बौद्ध धर्मावल्म्बी पाटन आउने गरेका सङ्घका महासचिव वीरेन्द्रलाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “यस दिन हरेक वर्ष राष्ट्रप्रमुख दर्शनका लागि आउने गरिएकामा यस वर्ष भने बढ्दो महामारीलाई ध्यानमा राखी नआउने कुरो भएकोे छ ।”