दाङ । थारु समुदायहरुको विभिन्न चाडपर्वहरु मध्येको एक महान् पर्व हो, अट्वारी पर्व । प्रत्येक वर्ष भदौ महिनाको श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आइतबार अथवा कुसे औसिको पहिलो आइतबारलाई थारु समुदायले बर्का अट्वारीको रुपमा यो पर्व लाई मान्ने गर्दछन । अट्वारी मूलत थारु समुदायका पुरुषले मनाउने भए पनि महिला पनि अटवारीमा व्रत बस्ने गर्दछन् ।
थारु समुदायको अट्वारी पर्व माघ पछिको दोस्रो ठूलो सांस्कृतिक, सामाजिक पर्वका रुपमा थारु समुदायले मनाउदै आइरहेका छन । अट्वारीको अघिल्लो दिन मध्यरातमा दर खाएर यो पर्व सुरु हुन्छ । दोस्रो दिन व्रत बस्ने र दिनको मध्याह्न पछि पुजा पाठ गरि चोखो रूपमा रोटी, पूरी, फलफुल खाने चलन छ भने अर्को दिन बिहान पुनः पूजा गरि माछा, खरिया फुलौरी लगायतका बिजाेर संख्यामा विभिन्न परिकार खाने रहेको थारु समुदायका स्थानीय बताउँछन् । बिधवत सबै पुजा सकिएपछि आफ्ना चेलिबेटी हरुलाइ पाहुरको रुपमा अग्रासन दिन जाने चलन छ ।
अट्वारी पर्व मनाउने सवालमा थारु समुदायकै बीचमा फरक - फरक मिति र समय हुन थालेपछि यसमा एकरुपता ल्याउन पछिल्लो समय थारु बाहुल क्षेत्र दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा सुर्खेतका लगाएतका क्षेत्रमा रहेका थारू हरुले संयुक्त रुपमा क्यालेन्डर समेत सार्वजनिक गरेर एकै दिन मनाउन थालेको थारू कल्याणकारीणि सभाका सचिब बाल गोबिन्द चौधरी बताउछन ।
थारु समुदायका पु्रुषले थारु समुदायको सुस्वास्थ्य र दिर्घायूृका लागि भनेर यो दिनलाई विशेष रुपमा लिने गरेका छन् । अट्वारीमा थारुहरु पानी समेत नखाएर ब्रत बस्ने गर्दछन ।
यस पर्वमा जंगलबाट ल्याएको नयाँ र शुद्ध मालुको पातको डुना टपरीमा विभिन्न थारु परिकार र फलफुल खाने प्रचलन छ । हाल भने समय परिबर्तन भए संगै पहिलेको अट्वारी भन्दा अहिले केही परिमार्जन भएको संस्कृतिविद् , तथा थारु भाषामा लामोसमय देखि कलम चलाइरहेका छबिलाल कोपिला बताउछन ।
अट्वारीको रोटी पकाउँदा नयाँ चुलो बनाएर छुट्टै कोठामा गाईको गोबरले लिपपोत गरी पकाएको रोटी पूजा नगर्दासम्म खान बन्दैन भन्ने मान्यता छ । आगो बाल्ने बेला गन्यारी नामक काठबाट रगडेर आगो निकालिन्छ । यसरी निकालिएको आगोलाई मुखले फुक्नु हुँदैन मुखले फुक्दा जुठो हुन्छ भन्ने मान्ने गरिन्छ ।
अटवारी पर्व हाल लोप हुने अवस्थामा रहेको भन्दै थारु अगुवाहरु चिन्तित छन । यस्लाइ बेलैमा संबंधित निकायले ध्यान दिन नसके अट्वारी पर्व लोप हुन सक्ने थारु समुदायका अगुवाहरु बताउछन ।