काठमाडौं । बर्दियामा पहिला बथानमा देखिने गिद्ध पछिल्ला दिनहरुमा हराउँदै गएका छन । बर्दिया प्रकृति संरक्षण क्लबले १३ औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस गिद्ध संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रम गरी मनाएको छ ।
उक्त कार्यक्रम गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षण सहभागिताबारे जनचेतना जगाउने उदेश्यका साथ मनाइएको प्रकृति संरक्षण क्लब बर्दियाका अध्यक्ष राम बहादुर शाहीले बताउनुभयो ।
सन् २००५ देखि दक्षिण अफ्रिकामा मनाइँदै आएको राष्ट्रिय गिद्ध सचेतना दिवस सन् २००९ बाट अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको हो ।
गिद्ध संरक्षणका लागि पशु उपचारमा प्रयोग हुने औषधि डाइक्लोफेनेक आदि विषादीको प्रयोग शून्य बनाउनुपर्ने, बासस्थान संरक्षण गरिनुपर्ने तथा आहारा सुरक्षा र उपलब्धतामा जोड दिनुपर्ने अध्यक्ष शाहीले बताउनुभयो ।
प्रकृतिमा हरेक जीवको आफ्नै महत्व हुन्छ, गिद्धको पनि आफ्नै धार्मिक, सांस्कृतिक र वातावरणीय महत्व रहेको छ । हिन्दू धर्म अनुसार गिद्धलाई शनि वाहनको रूपमा पुजिन्छ ।
वातावरण प्रदूषण, दुर्गन्ध र रोग मुक्त बनाउन गिद्धको भूमिका अहम् छ । गिद्धको अनुपस्थितिमा सिनो वातावरणमा यत्रतत्र छरिएर रहने भएकोले परिणामस्वरुप मानिसमा झाडापखाला, रेविज, प्लेग, हैजा, आउँ र पशु चौपायहरूमा एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग जस्ता विभिन्न रोगहरूको संक्रमणले महामारीको रूप लिन सक्ने भएकाले जनसमुदायनै मिलेर गिद्ध संरक्षण गर्नुपर्नेमा शाहीले जोड दिनुभयो ।