गत वर्ष फागुनमा नौ बुँदे घोषणापत्र जारी गर्दै बुटवलमा सकिएको राप्रपा निकट पत्रकारहरुको संस्था मिडिया नेपालको राष्ट्रिय भेलाले गोपाल पौड्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो । त्यतीबेला २७ सदस्यीय कार्यसमिति गठन भएको थियो । उक्त कार्यसमितिलाई मिडिया नेपालले पुन बिस्तार गरेको छ भने मिडिया नेपाल दाङका अध्यक्ष पत्रकार तेज ओली लुम्बिनी प्रदेश अध्यक्षमा मनोनित हुनुभएको छ ।
मिडिया नेपाल लुम्बिनी प्रदेश अध्यक्ष तेज ओलीसंग गरिएको संक्षिप्त कुराकानी
तँपाइ मिडिया नेपालको दाङ जिल्ला अध्यक्षबाट सिधै प्रदेश अध्यक्ष हुनुभयो नि, होइन ? तँपाइले दाङमा अध्यक्षको भूमिकामा रहँदा के-कस्ता काम गर्नुभयो ?
हो । म दाङमा लामो समय अध्यक्षको जिम्मेवारीमा थिएँ । करीब ४ वर्ष दाङमा मिडिया नेपालको जिल्लास्तरिय संगठन बिस्तार र निर्माणमा खटेर काम गरेँ । त्यहाँका पत्रकार साथीहरुलाई संस्थामा एकताबद्द गर्नु, श्रमजिवी पत्रकारका हक-हितकोलागी लड्नु आवाज उठाउनु मेरो प्रमुख उदेश्य थियो ।
मिडिया नेपाललाई दर्हो र मजबुत संगठन बनाउन जिल्लाका पत्रकार साथीहरुसंग छलफल र अन्तरकृया गरेँ । हामी सशक्त रुपमा अघी बढीरहेका छौँ । अहिले हाम्रो केन्द्रिय अध्यक्ष ज्युले मलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिनुभएको छ । यो अभिभारालाई म सफलता पुर्वक निर्वाह गर्नेछु ।
जिल्ला अध्यक्षको रुपमा पत्रकारका के-कस्ता समस्या देख्नुभयो ?
हेर्नुस् समस्याहरु धेरै छन । हाम्रो माग के छ भने श्रमजिवी पत्रकार ऐन ल्याएर थन्क्याएर मात्र राख्ने होइन । सरकारले पत्रकारहरुको मुख बन्द गर्न मात्र श्रमजिवी पत्रकार ऐन ल्याएको छ । ऐन ल्याएका छौँ भनेर गमक्क परेर बस्न पाईन्छ ? त्यस्को कार्यान्वयन गर्नुपर्दैन ? कि काठमाडौँका २-४ वटा मिडिया संस्थानहरुमा लागु गरेर वा अँझ भनौँ लागु गरेको जस्तो मात्र देखाएर हुन्छ । काठमाडौँ मात्र नेपाल हो ?
जिल्लामा खोइ लागु भएको ? जिल्लामा पत्रकारहरुले नियमानुसार पाउनुपर्ने तलब-सुबिधा पाए कि पाएनन सोधखोज गर्नु पर्दैन ? जिल्लाका पत्रकारहरुको हक-हित, वृत्ती-विकास, श्रमजिवी पत्रकार ऐन कार्यन्वयन लगायतका मुद्दाहरुलाई सशक्त ढंगले हामी उठाउँछौँ, जिल्लास्तरमा मात्र होइन, हामी अब प्रदेश स्तरमा व्यापक रुपमा उठाउँछौँ ।
जिल्ला र प्रदेशमा मिडिया नेपालको उपस्थिति कस्तो छ ?
जिल्ला र प्रदेशमा हाम्रो उपस्तिथि सशक्त छ तरपनी संस्थालाई अँझै मजबुत र दर्हो बनाउनुपर्ने देखिन्छ । त्यसकोलागि हामिले रणनीति बनाएका छौँ । हाम्रो श्रद्धय केन्द्रिय अध्यक्ष गोपाल पौड्यालज्युले लिएको रणनीति र कार्यनिती अनुसार प्रदेश स्तरमा व्यापक रुपमा अघि बढ्छौँ । सोही अनुसार संगठनलाई बिशाल र दिगो बनाउँदै हाम्रो सांगठनिक संरचनाको बिकाशलाई मध्यनजर गर्दै सदस्यता संख्या बढाउँछौँ । त्यसकोलागि हामी ग्रास रुटबाट काम गर्ने योजनामा छौँ ।
पत्रकारको हक हितमा केन्द्रित रहेर काम गर्दै जानेछौँ । अहिले समय-समयमा राज्यका अंगबाट पत्रकारमाथि भएका ज्यादतीका घटनाहरु सार्वजनिक भईरहेका हुन्छन, राज्य निरंकुश भईरहेको छ । मिडिया क्षेत्रलाई स्वतन्त्र रहन दिनुपर्छ तर त्यसको बिपरित काम भईरहेको छ ।
अहिलेका सत्तासिन नेताहरु मिडियालाई बन्धनमा राख्न चाहन्छन । त्यस्का बिरुद्धमा मिडिया नेपाल अब झनै गम्भिर र सशक्त रुपमा आवाज बुलन्द गर्दै अगाडि बढ्नेछ । हेर्दै जानुहोस सुस्त-सुस्त हाम्रो संगठनमा धेरै साथीहरू जोडिदैँ जानुहुनेछ ।
उसो भए राजसंस्था र हिन्दूराज्य भएको बेला पत्रकारहरु सुरक्षित थिए त ? तँपाइहरुलाई राजा र हिन्दू राज्य चाहिएको होइन त ?
राजसंस्था भएको बेला कतै सिमा मिचिएको थियो ? के राज संस्था भएको बेला तुइन तर्दा बिदेशी सुरक्षाकर्मिले तुइन काटिदिएको थियो ? नेपालीले अनाहकमा ज्यान गुमाउनुपरेको अवस्था थियो ? विश्वको सर्वशक्तिमान राष्ट्र मध्यको एक बेलायतमा राजसंस्था हुने, त्यहाँ राजसंस्था भएको देशमा लोकतन्त्र हुने अनी हाम्रोमा हुन नहुने ? हेर्नुहोस् जस्तो देश त्यस्तै भेष गर्नुपर्छ । राम्रा कुराको अनुसरण गर्नुपर्छ भने राम्रा छन भने हामीले आफ्नै संस्कृतिलाई संरक्षण गर्दै हिँड्नु पर्छ ।
हिँजो राजा हुँदा यस्तो विकृति-विसंगती थियो ? अहिले हेर्नुहोस् राजसंस्था र हिन्दू राष्ट्र फाल्नुपर्छ भन्दै कराउने नेताहरुको हालत ? अहिले कसरी सत्तामा पुगेपछि नाताबाद -कृपाबादमा लिप्त छन ? तँपाइलाई लाग्दैन आज देशले प्रगती गर्नु पर्ने थियो तर देश त उल्टो गतिमा उल्टो हिँडिरहेको छ भनेर ? मैले अघिनै भनिसके हामीले हाम्रो राजा फालेर बिकाश ल्यायौँ त ?
पुर्वलाई पश्चिमसंग जोड्ने, तराइलाई पहाडसंग जोड्ने महेन्द्र राजामार्ग कस्ले बनायो ? देशका ठुला-ठुला ऐतिहासिक धरोहर कस्ले बनायो ? हेर्नुहोस् जुन संस्थाले नेपाल र नेपालीलाई एकढिक्का बनाएर राख्यो आज त्यसैलाई हामीले नराखेपछि देशको अवस्था कस्तो भयो । यो पत्रकार र पत्रकारिताको मात्र कुरा होइन समग्र नेपालीको कुरा हो ।
हिँजो सालीन, भद्र र गम्भिर ढंगले जनताको नासो जनतालाई सुम्पिन्छु भनेर राजाले जनतालाई देश सम्हाल भनेर दिएका होइनन ? आज हेर्नुहोस् त जनता जहाँको त्यहीँ पिल्सिएर बसिरहेका छन तर जनताको नाममा राजनीति गर्नेहरुले सासु-ससुरा, काका-भतिजा, छोरा-छोरी श्रीमतिलाई मन्त्री बनाउने, राज्यका आकर्षक पदमा बिराजमान गराउने, पदक र बिभुषण समेत नछोड्ने गरी आफ्नो पोल्टामा पार्ने यस्ता काममा लागेका छन । यसरी देशको बिकाश हुन्छ । त्यसैले राजसंस्था र हिन्दू राज्य पनि देशको आवश्यकता हो । यस्लाई हामीले भुल्नुहुँदैन ।