राजदूत ढकाल र एनआरएनए मध्यपुर्वको पहलमा ५५० अक्सिजन सिलिण्डर नेपाल आउँदै
काठमाडौँ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको प्रयासमा एनआरएनए मध्यपुर्वको पहलमा जम्मा गरिएको ५५० अक्सिजन सिलिण्डर शनिबार नेपाल पठाइँदै छ ।
एनआरएनए मध्यपुर्वका देशहरु ओमान, कतार, युएई, साउदी अरब, कुवेत र बहराईनमा रहेका गैरआवासीय नेपाली संघ, नेपाली समुदाय, मध्यपूर्वका देशमा रहेका अन्य नेपाली संघ संस्था र समुदायको सहयोगमा ५५० अक्सिजन सिलिण्डर खरिद गरिएको हो । उक्त सिलिण्डर शनिबार नेपाल पठाउन लागेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताउनु भयो ।
नेपालमा कोरोना संक्रमितहरुले अक्सिजनको अभावमा ज्यान गुमाउनु नपरोस भन्ने सोँचका साथ बिदेशमा रहेका नेपालीहरुले अक्सिजन सिलीण्डर खरीद गरी नेपाल पठाउन लागेका हुन ।
प्रति सिलीण्डर ४० लिटर अक्सिजन अट्ने ५ सय ५० थान सिलीण्डर खरीद गरी नेपाल पठाउने अन्तिम तयारीमा रहेको ओमान स्थित गैर आवासिय नेपाली संघ(एनआरएन)का अध्यक्ष विकल झाले जानकारी दिनुभयो । खाडी मुलुकमा रहेका नेपालीहरुको स्वतस्फुर्त सहयोगमा करिब ७५ लाख रुपेैया बराबरको अक्सिजन सिलीण्डर नेपाल पठाउन लागिएको हो ।
नेपालमा पछिल्लो समय अक्सिजनको अभाबमा धेरै कोरोना संक्रमितले ज्यान गुमाईरहेका छन । नेपाल पठाउने अन्तिम तयारी भएको र यही शनीबार सम्म नेपाल पुर्याउन लागेको झाले बताउनु भयो । अक्सिजन सिलीण्डर नेपाल पुर्याउन ओमान स्थित नेपाली दुतावाससंग समन्वय भैरहेको र यस्मा महत्वपूर्ण भूमिका खेल्ने ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाललाई झाले धन्यवाद दिनुभयो । नेपालको हरेक समस्यामा एनआरएन सदैव सहयोगीको भुमिकामा रहेको बताउँदै एनआरएनए मध्यपुर्ब संयोजक प्रविन गुरुङ्गले सहयोगी सबै हातलाई धन्यवाद दिनु भयो ।