फाइल तस्विर
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको हत्या अभियोगको मुद्दा ‘हेर्न नमिल्ने’ मा परेको छ । अन्तिम सुनुवाइका लागि बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलासमा पेसी चढेको थियो ।
आज संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको तर सुनुवाइ नै सुरु नगरी ‘हेर्न नमिल्ने’ आदेश भएको छ । काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या अभियोगमा सभामुख सापकोटाविरुद्ध परेको मुद्दा सर्वोच्चमा लामो समयदेखि विचाराधीन छ । पटकपटक पेसी चढे पनि सुनुवाइ सर्दै आएको छ ।
सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सभामुख सापकोटामाथि लागेको छ ।
१६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा पर्नुभएको थियो । साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उहाँकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिनुभएको थियो ।
प्रहरीले जाहेरी नलिएपछि पूर्णिमायाले सर्वोच्चमा उजुरी गर्नुभएको थियो । २२ फागुन २०६४ मा सर्वोच्चले आदेश दियो र जाहेरी दर्ता भयो । तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राख्ने निर्णय गरेको थियो ।
त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च जानुभएको थियो र सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको थियो । यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । मुद्दा विचाराधीन रहेकै बेला सापकोटा सञ्चारमन्त्री बनेपछि कनकमणि दीक्षित लगायतले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा समेत हाल्नुभएको थियो ।