काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको साविक रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको भन्दै आचार्यसहित तत्कालीन गाविस सचिव लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
प्रवक्ता नारायणप्रसाद रिसालले रामपुर ठोक्सिला गाविसका कर्मचारीहरूले ८–१० वर्ष पहिल्यै मृत्यु भइसकेका व्यक्तिको नामबाट सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा पाँच जना कर्मचारीविरुद्ध मुद्दा चलाइएको जानकारी दिनुभयो ।
तत्कालीन गाविस सचिवहरुले मृत्यु दर्ता भएपछि मृतकको सामाजिक सुरक्षा भत्ता वितरणको भरपाईमा कैफियत जनाई लगत कट्टा गर्नुपर्नेमा मृतक लाभग्राहीहरुका नामका साथै दोहोरो नामको भरपाई बनाएर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।
उक्त गाउँ विकास समितिका कर्मचारीहरूले आर्थिक वर्ष २०६३/०६४ देखि २०७१/७२ सम्म सामाजिक सुरक्षा भत्ताबापत १६ लाख ४० हजार ५०० रूपैयाँ दुरूपयोग गरेको अख्तियारले दायर गरेको अभियोगपत्रमा रहेको छ । उक्त अवधिमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरूको मृत्यु भएपश्चात घटना दर्ता गरेर लगत कट्टा गर्नुपर्नेमा त्यसो नगरी मृतकको नाममा भरपाई बनाएर आफैंले दुरूपयोग गरेका थिए ।
उजुरीपछि छानबिन गर्दा १६ लाख ४० हजार ५०० रुपैयाँ हिनामिना गरेको खुल्न आएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको साविक रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्य (हाल मालपोत कार्यालय उदयरपुरका नायब सुब्बा)विरुद्ध ९ लाख ९० हजार पाँच सय दुरूपयोग गरेको, तत्कालीन गाविस सचिव लोकेन्द्र कार्की (हाल रौतामाई गाउँपालिका–७ का वडा सचिव) विरद्ध ७८ हजार, तत्कालीन गाविस सचिव विशाल सुन्दास (हाल तथ्यांक कार्यालय उदपुरका खरिदार) विरुद्ध ८२ हजार दुरूपयोग गरेको भन्दै मुद्दा दर्ता गरेको छ । त्यसैगरी तत्कालीन गाविस सचिव माधवप्रसाद खतिवडा (हाल रौतामाई गाउँपालिकाका अधिकृत छैटौं) विरुद्ध तीन लाख १४ हजार र हाल अवकाश पाइसकेका तत्कालीन गाविस सचिव पुष्पराज सिग्देलविरुद्ध एक लाख ७६ हजार रूपैयाँ दुरूपयोग गरेको भन्दै त्यति नै बिगो कायम गरेर अख्तियारले मुद्दा चलाएको छ ।