नेपालगन्ज : नेपालीहरूको महान चाड दशै तिहार नजिकिँदै गर्दा माटोका सामाग्री बनाउने बाँकेका कुमालेहरु व्यस्त हुन थालेका छन् । केही कुमाले सदावहार माटोका सामाग्री बनाउँदै आएका छन् भने केही कुमालेले भने चाड पर्वको बेला मात्रै माटोका भाँडा बनाउने गर्छन् ।
यसैक्रममा नेपाल कागज डटकमले चाड पर्वलाई लक्षित गर्दै माटोका भाडा बनाउने कुमालेको बारेमा यो विशेष समाचार तयार पारेको छ। रिपोर्टिङको सिलसिलामा नेपाल कागज टिम बिहीबार बाँकेको पुरैनी २२ मा पुगेको थियो।
पुरैनी पुग्दा नेपाल कागजको नजर एउटा घरछेउमा माटोका भाँडा बनाइरहेका एक व्यक्तिमा पुग्यो। ति व्यक्ति थिए ५२ वर्षिया मनमोद वर्मा। बाँकेको पुरैना २२ मा बसोबास गर्ने वर्मा पेसाले घर बनाउने मिस्त्री हुन् । तर उनी माटोका भाँडा बनाउन पनि उत्तिकै सिपालु छन् ।
अन्य समयमा घर बनाउन व्यस्त हुने ५२ वर्षिय वर्मा नेपालीहरुको महान चाड दशै तिहार नजिकैँदै गर्दा भने माटोका भाँडा बनाउन दिनहुुँ व्यस्त हुने गर्छन् ।
घरको छेउमा एउटा सामान्य मेसिन राखेर माटोबाट विभिन्न सामग्री बनाउन सिपालु वर्माले यस् पालिको चाड पर्वलाई लक्षित गर्दै माटोका पाला, मट्का लगायतका सामग्री बनाइरहेका छन् । अन्य भन्दा चाड पर्वमा माटोका सामाग्रीको बढी खपत हुने भन्दै वर्माले परिवारका सदस्यको सहयोग लिँदै धमाधम माटोका भाँडाहरु बनाइरहेका छन् ।
उनले माटोका पाला रु १ र माटोका मट्का डेढ रुपैयाँमा बेच्ने गरेको बताए। उमेरले पाको भएपनि अझै जाँगरिलो देखिने वर्माले पहिले भन्दा अहिले यो पेसा लोप हुँदै गएको बताए। यसरी कुमालेको पुर्ख्यौली पेसा लोप हुँदै गैरहँदा स्थानीय प्रशासनले व्यवस्थित र प्रबर्द्धन गरिदिए कुमालेको पेसाले बजार पाउने देखिन्छ।
त्यसो त सदावहार यही पेसा गर्दै आएका केही कुमालेले भने राम्रै बजार पाइरहेका छन् । पछिल्लो समय नेपालगन्जमा मट्का चियाले बजार लिएपछि हरेक चिया पसलमा मट्काको माग बढ्दो रहेको चिया व्यापारी बताउँछन् ।