आउँदै गरेको बडा दशैँले मलाई फेरी मेरो जन्म घर पुग्ने अवसर मिल्यो । लामो समय पछिको आगमनले होला घर वरपर गमलामा रहेका फुल अनि घर अगाडिको बगैचा असरल्ल रहेको छ । झारपातले सुन्दर बगैचामा रहेका लालुपाते सयपत्री र गुलावाको सुन्दरतालाई मात्र होइन घरको प्रवेशद्वार मुल ढोकालाई नै कुरूप बनाई दिएको छ ।
खिया लागेको ताल्चालाई खोलेर गृह प्रवेश गरि सबै घर भित्र अनि बाहिर मन लगाएर सफा गर्दैछु । घरकै उत्तर तर्फ रहेको अम्बाको रुखमा ढुकुरले गुड लगाएको रछ । बिहानै ढुकुरको मिठो गुन्जनका साथ घर संगैको पारिजातको सुगन्धले मनै प्रफुल्ल रहन्छ । लामो समय पछि घरको दक्षिण तर्फको ढोका खोलि बार्दलीमा जान्छु । गत बर्ष डोरीमा गुथी दक्षिण दलानमा सुकाएको फर्सी लामो समयसम्मको एकान्तका कारण होला मुसाले टुक्रा टुक्रा पारि सकेको रछ । बिच्च आँगनमा रहेको मकैको सुली भने धन्न खाइ भ्याएको रनछ ।
बार्दलीबाट यसो चियाउछु पुर्व तर्फको खोला सुस्त गतिमा बगिरहेको छ | बिगतमा बसाहा रुपमा बग्ने उक्त खोलामा साथीहरु कमल,हरि,दिपक लगायत संग पौडी खेल्नुको मजा आहा.....। तर आज उक्त खोलाले रुप र आकार समेत सानो बनाएको रछ । चारै तिर रुख र झांग अनि पानीको वहाव समेत शान्त अनि कमजोर रहेको छ । ओल्लो-पल्लो छिमेकीहरुको दैनिन्दीय भने उस्तै नै छ । बिहानै चार बजे नै टोल गुन्जायमान भएको छ । मिठो स्वरका साथ आफनै स्वर र लयमा गीत गाउँदै मेलो धन्दामा उत्साहित देखिन्छ । आफ्नै आनन्द, आफ्नै परिवेश र आफ्नै संसार छ ।
दक्षिण बार्दली संगैको सानो आँखी झ्यालमा टम्म माकुराको जालोमा सफा गर्दै गरेका मेरा हात टक्क रुक्न पुग्छ । माउ माकुरोले अँगालोमा राखेका अनगिन्ती बच्चा देख्ना साथ मलाई प्रकृतिको माया लागेर आयो, सम्पूर्ण जीव जिवात्मा प्रतिको प्रेम जागेर आयो । मैले उक्त ओथारोमा रहेको माकुरालाई कत्ति पनि असर नहुने गरि सरसफाईको मेरो कर्मलाई छोडिदिए । प्रत्येक दिन जसो मेरा आँखा ठोक्किने मेरो सयन कक्षको अगाडिका माकुराका उक्त गति बिधि मैले नचाहादा समेत मेरो नजरमा दिनहु परि नै रहेको छ ।
आज हप्ता पार गरयो क्यारे बच्चाहरु दिन प्रतिदिन बढ्दो छन । आमाले ठुलो संख्याका आफ्ना सन्ततिलाई आफैले बनाएको जालोमा पर्ने किरा फट्यांग्रालाई टुक्रा टुक्रा पारि बाडी चुडी बच्चाको भरण पोषण गरेकै छि । दिनानुदिन ठुलो संख्याका बच्चालाई अब जालमा आउने चाहाराले भोक मेटाउन गाह्रो छ । बच्चाको आवश्यकतालाई आमाले पुरा गर्ने चाहामा हुन्छे तर आवश्यकता अलि बढी नै होकि काखमा रहेका ती बच्चाको झुण्डले बिस्तारै आमाको कोमल अंग चुस्न थाल्छन । मातृवात्सल्यमा आनन्दित आमालाई कल्पना नै हुँदैन क्यारे आफ्ना सन्ततीले आफ्नै जीवन समाप्त गर्ने बारे केहि समयको अन्तरमा भोक कै लागि सन्ततिले आमाको ईहलीला समाप्त गरि दिन्छन ।
आज देख्दैछु आमाको लामा लामा खुट्टा र अस्तिपंजर मात्र बाँकी छ । म सोच्न सकिरहेको छैन वच्चाको भरण पोषणका लागि लाखौँ दुख, संघर्ष र बलिदानी गर्ने आमाको त्यो समर्पणलाई कसरी आफनै सन्तानहरुले बिर्सेका होलान । सोच्न सकिरहेको छैन आमाको बलिदानीमा सन्ततिहरुको त्यो घात ।
लेखक - गङ्गालाल योगी (योगी प्रभात)
लेखक ईलाका प्रशासन कार्यालय गोटिखेल ललितपुरमा कार्यालय प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।