हतारमा राजदूत नियुक्तिको प्रकृया अगाडि बढ्यो, प्रस्तावित नाम संसद् सचिवालयमा
काठमाडौँ । परराष्ट्र मन्त्रालयले हतारमा राजदूत नियुक्तिको प्रकृया अगाडि बढाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदुतकालागी प्रस्तावित नाम संसदीय सुनुवाइ प्रक्रियाका लागि शुक्रबार संसद् सचिवालयमा पठाउनु भएको छ ।
इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ, अस्ट्रियाका लागि परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्ले, राजनीतिशास्त्रका पूर्वप्राध्यापक रमेशचन्द्र पौडेल श्रीलंकाका लागि, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मा दक्षिण कोरियाका लागि राजदूत सिफारिस गरिएको छ भने अस्ट्रेलियाको राजदूतमा सिविन नेपालकी कार्यकारी संयोजक तथा वामपन्थी नेता पद्मरत्न तुलाधरकी छोरी सुम्निमा तुलाधर, रुसकालागी रुसी भाषाका ज्ञाता तथा अनुवादक जंगबहादुर (जंगब) चौहान, नारायणप्रसाद संग्रौला म्यान्मार र एमाले पार्टीसम्बद्ध पूर्वमन्त्री युवराज कार्की बहराइनका लागि, ब्राजिलमा कुलप्रसाद नेपाल र डेनमार्कमा सुमित्रा सुवेदी, नेकपा एमालेसम्बद्ध मुस्लिम संगठनका केन्द्रीय सदस्यसमेत रहिसकेका मेराज मुसलमान साउदी अरेबियाको राजदूतमा प्रस्तावित हुनुहुन्छ ।
प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइबाट पारित भएपछि बढीमा एक महिनाभित्रमा राजदूत नियुक्ति प्रकृया अघि बढ्नेछ ।
राजदूतले गरेको कामकारबाहीको ‘कार्यसम्पादन मूल्यांकन’ का आधारमा राजदूत पुन नियुक्ति वा पदावधिबारे निर्णय गर्नुपर्नेमा सरकारले हतार्-हतार आफ्नो पक्षकालाई ब्यबस्थापन् गर्न राजदुत नियुक्ती प्रकृया अगाडि बढाएको आरोप लागेको छ ।
अस्ट्रेलियास्थित राजदूत महेशराज दाहाललाई उनको कार्यकालको डेढ वर्ष नबित्दै फिर्ता बोलाइएको थियो भने कार्यकाल पूरा भइसकेका टोकियोस्थित राजदूत प्रतिभा राणा र मस्कटस्थित शर्मिला पराजुली ढकाललाई ‘अर्को निर्णय नहोइन्जेलका लागि कार्यकाल थप गरिएको’ थियो । यी निर्णयमा पनि राजदूतको कार्यसम्पादन मूल्यांकन हेरिएको थिएन ।