"समृद्ध नेपाल सुखी नेपाली"को महत्वकांक्षी लक्ष्य सहि २०७४ को आम निर्वाचन पछि एकीकृत बाम गठबन्धनको सरकार ३ बर्षको पुरापुर सहयात्रा नटुंगिदै सर्वोच्च अदालतको आदेश पछि पूर्ववत पार्टीमा पर्किएको छ । नेपाली राजनीतिमा २०६२/०६३ को जनआन्दोलनको जगमा राष्ट्रिय राजनीतिमा राम्रो पकड दिन सफल दुई भिन्न राजनीतिक दल एमाले र माओबादी पार्टी बिचको एकताले जसरि राष्ट्रिय राजनीतिमा एक किसिमको तरंग मात्र ल्याएन आम नागरिकको समृद्ध नेपाल र सुखी नेपालीको महत्वकान्क्षालाई समेत उचाइमा पुरायो ।
तर यी दुई पार्टी विभाजनसंगै राष्ट्रिय राजनीतिमा देखिएको अन्धकारले संबिधानको प्रस्तावनामा उल्लेखित मर्म भावनामा लिपिबद्ध गरिएका "सामन्ती,निरंकुश ,केन्द्रिकृत ,एकात्मक राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पिडनको अन्त गर्दै लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद प्रति प्रतिबध्द रही समृद् राष्ट्र निर्माण गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यबस्थाको माध्यमद्धारा दिगो शान्ति,सुशासन,बिकास र समृद्धिको आकांक्षा पुरा गर्ने अभिलाशामा पुन: अन्योलता आएको छ ।
बिश्वब्यापी रुपमा नै माहाबिपद कोरोना भाइरसका कारण संक्रमित र मृतुदरको ग्राफ चित्रले प्रत्येक दिन नयाँ उचाइ लिइरहेको यो कठिन अबस्थामा केन्द्र देखि स्थानीय तह सम्म स्थिर, जनभावनालाई आत्मसाथ गर्न सक्ने क्रियाशील सरकार हुनु पर्नेमा केन्द्र देखि स्थानीय तहसम्म अस्थिरता आउने गरि सरकार बिरुद्दका बिश्वास /अबिश्वासको प्रस्ताव र सरकार बनाउने गिराउने खेल सुरु हुनु आफैमा दुखद मात्र होइन अक्षम्य:समेत छ ।
लामो बलिदानी पश्चात स्थापित संघिय लोकतान्त्रिक गणतन्त्रामक बहुदलीय ब्यबस्था स्थापना भएको पध्र बर्ष पुरा नहुदै बिगत २०४६ साल पछि नेपाली राजनीतिक वृतमा देखिने गरेका फोहरी खेलको पुनराबृत हुनु आफैमा दुर्भाग्य पूर्ण छ । हजारौ नेपालीले सशत्रक्रान्तिका नाममा सहादत दिई ,२०६२/०६३को जन आन्दोलनको बलमा स्थापित यस ब्यबस्थामा किन राज्यकै मियोको रुपमा रहेको मूल नीति राजनीतिको पछौरा पकडी यति उति जेल नेल बसेको दम्भ गर्ने राजनीतिक कर्मीले नागरिकको अमुल्य जीवनलाई सत्ताको दाउमा राखी पासा थाप्न तयार भएका छन प्रश्न गम्भीर रहेको छ ।
संक्रमणको यस घडीमा अग्रमोर्चामा रही ज्यानको प्रवाह नगरी जुटेका स्वास्थ्य कर्मीलाई हौसला र उत्प्रेरणा दिनु पर्ने,आम सर्वसाधारण नागरिकलाई सरकार कुनै पनि मुल्यमा कोभिडसंगको युद्दमा विजय हुने सुनिस्चितता दिनु पर्नेमा आज अस्पताल पुग्न एम्बुलेन्स नपाइ रहेको,उपचारका लागि अस्पताल र बेड नपाइरहेको,गम्भीर बिरामीले अक्सिजन नपाइरहेको र समग्र ब्यबस्थापकीय कमजोरी कै कारण आँखा अगाडि आफ्ना प्रिजनको दुखद मृत्युको चित्कारले अभिभावकिय दायित्व बोकेका तिनै तहका सरकार किन जाग्न नसकेको हो ?
बिगतमा आफना कमजोरी र गल्ति लुकाउन र समृद्धि र बिकासको बाधकका रुपमा राणा शासन,पंचायती ब्यबस्था र राजतन्त्रलाई औला ठराउने राजनीतिक दललाई आज त्यो छुट नभएको आम नागरिकले राम्रोसंग बुझिसकेको छ । अत:विपदको यस घडीमा २०७२ सालको महाभुकम्पको विषम क्षणमा जसरी सबै राजनीतिक दल र बुद्धिजीवी एकमतका साथ क्षणिक स्वार्थ त्यागि विपद ब्यबस्थापनका लागि एकजुट भएका थिए आज पनि सोहि एकता आवश्यक देखिएको छ । साथै तिनै तहका सरकारले आपसी समन्वयका साथ ठुला महत्वकांक्षी बिकासका आयोजना बनाउनु भन्दा तत्काल नागरिकको जीवन रक्षा गर्ने ठोस योजना बढाउनु पर्ने देखिन्छ ।