यही २०७८ साल आश्विन २१ गतेको घटस्थापनासंगै सम्पूर्ण हिन्दुजनको महान चाड विजया दशमीको आगमन संगै अन्य महत्वपूर्ण चार्डहरुको आगमन हुँदैछ । वर्षा ऋतुको अन्त संगै सरद ऋतुको आगमनमा खेतका गह्रा भरि झुलेका धानका वाला, सयपत्री र मखमली फुल अनि बारी भरि पहेँलै फुलेका तोरीका फुलसंगै साँच्चिकै मनमोहक वातावरणले बर्षादको खहरे भेल अनि मानो रोपि मुरी फलाउने किसानका मात्र नभई सबै जनको दुख र व्यस्ततालाई भुलाउने गरेको हुन्छ ।
त्यसो त प्रत्येक चार्ड पर्वले परम्परागत सांस्कृतिक, धार्मिक मुल्य मान्यतालाई मात्र आत्मसाथ नगरी केहि विशेष संदेश पनि दिएको हुन्छ । हिन्दु मात्रको बिशेष चाड बडा दशैले पनि त्यस्तै मत्वपूर्ण संदेश दिएको छ । त्यो भनेको असत्य माथी सत्यको विजय, राक्षसी र दानबिय प्रवृति माथि मानवीय प्रवृतिको बिजयको संदेश दिएर समस्त मानव जीवनलाई सत्कर्म, सतविचार, सतभाव र सतसंगका लागि दिने प्रेरणा पनि हो । साथै शक्तिकी खानि दुर्गा भवानीको अपार शक्तिको व्याख्या गरि नारी भित्र रहेको शक्तिको महिमा र त्यो सत्यका लागि प्रयोग हुने संदेश पनि हो ।
बडादशैको यो राष्ट्रिय चाडले ठुला मान्यजनबाट टिका र आशिर्वाद लिने मात्र नभई टाढा टाढा रहेका आफन्तजनसंगको भेटघाट र मित्रताको पाटोलाई पनि जोडने गर्दछ । साथै एक अर्का बीच रहेको बैरभाव र कटुतालाई सुमधुरता र मित्रताको नयाँ चिराका साथ गुडाउने अवसरका रुपमा लैजाने, हुने र नहुने सबै बर्गका मानिसहरुलाई समेत मिठो मसिनो खाने राम्रा लुगा लगाउने अवसर पनि जुराइदिने गर्दछ । यसले रोटे पिंगको फन्कोसंगै मिठा परिकारको आनन्द र आफन्त जनको भलाकुसारीमा सबै सबैको पीडालाई भुलाउने समेत गर्दछ ।
अन्तमा कोभिडको माहामारी बीच आउँदै गरेको बडा दशैँ, दिपावली, छट लगायतका सम्पूर्ण चाड-पर्वहरुलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै आ-आफ्नो गच्छे अनुसार उल्लाहसपूर्ण तरिकाले मनाउने अपेक्षाका साथ सम्पूर्ण आदरणीय पाठक एवं सबैमा सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ।