ज्ञानु संगम खड्का/ काठमाडौं : करिव दुई वर्षयता नयाँ फिल्म रिलिज भएका छैनन् । कोरोनाका कारण अस्तव्यस्त फिल्म नगरी अब भने चलायमान हुन्छ कि जस्तै संकेत देखिएको छ। किनकी आजबाट हल खुलेका छन् ।
त्यसो त, कोरोनाको पहिलो कहर हल्का नियन्त्रणमा आएको समयमा भने हल खुलेकै हुन् ।तर त्यो समयमा नयाँ फिल्म हलमा लागेनन। करिब एक हप्ता जति पुरानै फिल्म लगाइयो। नत दर्शक हेर्न हलसम्म पुगे, नत ति पुराना फिल्मले हलको खर्च नै उठाए।
यद्यपि, एउटा नयाँ फिल्म त्यो समयमा हलमा नलागेको भने होइन। शिव श्रेष्ठले चुनौती मोलेर विषम परिस्थितिमा पनि नयाँ फिल्म "एउटा यस्तो प्रेम कहानी" हलमा लगाए। तर फिल्मले पानी सम्म भन्न पाएन। अर्थात फिल्म सुपरडुपर फ्लप भयो भन्दा फरक नपर्ला। यो फिल्मको अवस्था देख्दा कुनै निर्माताले पनि फिल्म लगाउने आँट गरेनन् ।
अन्ततः कोरोनाको दोस्रो लहर सकिएर नियन्त्रणमा आएलगत्तै हाल सरकारले हल खोल्न अनुमति पनि दिइसकेको छ। त्यसै अनुरुप यो दशैंलाई लक्षित गर्दै २ फिल्म रिलिज हुने तयारीमा छन् । रिलिज हुने फिल्महरु हुन् फिल्म "डाँडाको वरपीपल" र फिल्म "धन्दागिरी"।
"डाँडाको वरपीपल"
एउटा प्रेमिल जोडीले भोग्ने अनेक दु:ख, वेदना अनि संघर्षको कथा बोल्ने यस् फिल्मा निर्देशक हुन् शोभित वस्नेत। काठमाडौं र चित्लाङका विभिन्न स्थानमा खिचिएको फिल्ममा शिव श्रेष्ठ , भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत , रुविना थापा, उत्तम केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ।
बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता नवराज गिरी हुन् । फिल्म यही असोज २६ गते रिलिज हुने बताइएको छ।
"धन्दागिरी"
त्यस्तै, यो दशैलाई लक्षित गर्दै रिलिज हुने तयारीमा रहेको अको फिल्म हो "धन्दागिरी"। एनबी अन्जान निर्देशित फिल्मा कलाकार सबिन श्रेष्ठ , छुल्ठिम गुरुङ, दिनेश खड्का, दिनेश डिसी लगायतको अभिनय रहेको छ।
दिनेश खड्का फिल्मका एसोसिएट निर्माता हुन् भने कार्यकारी निर्माता कुमारप्रसाद ओझा हुन् । यो फिल्म यही असोज २५ गते रिलिज हुँदैछ।
यसरी यो दशैलाई लक्षित गर्दै रिलिज हुन लागेका यि दुई फिल्मलाई दर्शकले साथ देलान् कि नदेलान त्यो त रिलिज मिति कुर्नुपर्ने नै हुन्छ। यद्यपि, लामो समयदेखि नयाँ फिल्मको संवाद चाख्न नपाएका दर्शकको प्यास भने पक्कै यि दुई फिल्मले मेट्ने छन् ।
त्यसो त, कोरोनाको कहर पुर्णरुपमा अन्त्य भैनसकेको यो समयमा सरकारले फिल्म हल खोल्न अनुमति फिनु र नयाँ फिल्म हलमा लाग्नु निकै खुशीको कुरा हो।