काठमाडौँ । बालिकाविरुद्धको हिंसा र विभेद अन्त्यका लागि घर परिवारदेखि नै जागरण ल्याउनुपर्नेमा जोड दिइएको छ ।
अन्तर्राष्ट्रिय बालिका दिवस, २०२१ का सन्दर्भमा शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्को आयोजनामा गरिएको कार्यक्रममा मन्त्रालयका सचिव यमकुमारी खतिवडाले गर्भमा रहँदादेखि नै बालिकामाथि विभेद हुने स्थिति अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले बालिकामाथि हुने हिंसा र विभेद अन्त्यका लागि भएका कानून र नीतिको कार्यान्वयनमा नेपाल सरकार प्रतिबद्ध रहेको कुरा बताउनुभयो ।
मन्त्रालयका सहसचिव उमेश ढुङ्गानाले भएका कानूनको कार्यान्वयनका लागि स्थानीय तहसम्म संरचना हुनुपर्ने भएकाले त्यसका लागि पहल भइरहेको बताउनुभयो । परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले स्थानीय तहमा बाल हेल्प लाइन र अन्य संयन्त्रबाट त्यहाँ हुने हिंसा र विभेदको उजुरी लिएर न्याय दिलाउन सकिने प्रणाली स्थापनाको पहल भइरहेको जानकारी दिनुभयो । राष्ट्रिय सञ्जालका संयोजक तिलोत्तम पौडेलले बालिकाको अधिकार संरक्षण र प्रवद्र्धन तथा विकासका लागि सबै पक्ष लाग्नुपर्ने बताउनुभयो ।
सोही अवसरमा सडक बालबालिकालाई खेलकुदमा अग्रसर गराउन ‘सडकदेखि रङ्गशालासम्म’ कार्यक्रमका लागि परिषद् र नेपाल रग्बी सङ्घबीच सम्झौता सम्पन्न भयो । सम्झौतामा कार्यकारी निर्देशक धरेल र सङ्घका अध्यक्ष टङ्क घिसिङले हस्ताक्षर गर्नुभयो । यस्तै राष्ट्रिय बाल दिवस (भदौ २९) का अवसरमा मन्त्रालय र परिषद्द्वारा आयोजित ‘सङ्घीय नेपालमा बाल अधिकार’ विषयक भिडियो निर्माण प्रतियोगिताका प्रथम र द्वितीय हुने बालबालिकालाई नगद क्रमशः रु २५ र २० हजारसहित पुरस्कार प्रदान गरियो ।
यही अक्टोबार ११ मा ‘डिजिटल पुस्ता, हाम्रो पुस्ता’ भन्ने नाराका साथ यस वर्षको दिवस विश्वभर मनाइँदैछ । १९ डिसेम्बर २०११ मा भएको संयुक्त राष्ट्र सङ्घीय साधारणसभाको विशेष प्रस्तावबाट निर्णय भई सन् २०१२ देखि प्रत्येक वर्ष अक्टोबर ११ मा यो दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा संसारभरि बालिका अधिकारलाई प्रवद्र्धन गर्ने, बालिकालाई संरक्षण गर्ने, बालिकामाथि हुने सबै प्रकारका विभेदको अन्त्य, बाल विवाह, गरिबी, अशिक्षा र विभेदबाट बालिकालाई मुक्त गराउने जागरण र अभियान सञ्चालन हुनेछ ।