राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री ओली मानेनन- संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री केपी शर्मा ओली नमानेको बताउनुभएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका भट्टराईले आइतबार बिहान ट्वीट गर्दै देशलाई निकास दिन प्रधानमन्त्री ओलीलाई भेटेर राष्ट्रिय सरकारको प्रस्ताव राखेको बताउनुभयो ।
नेकपा एमालेका सांसद महेश बस्नेतले प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा भट्टराईले ओलीलाई भेटेर 'प्रधानमन्त्री बनाइदिनुपर्यो' भनेको भनेपछि भट्टराईले सामाजिक सञ्जालमा स्पष्टीकरण दिनुभएको छ ।
उहाँले ट्वीटरमा लेख्नु भएको छ, 'प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो- महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो। मैले वर्तमान र पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊ भनेकै हो। वहॉले नमानेपछि अरूलाई नभनेको हुँ ।'
(जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको ट्वीट
तीन दिनअघि प्रतिनिधिसभामा विश्वासको मत प्राप्त नगरेपछि कामचलाउमा परिणत हुनुभएका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुका प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अन्तर्गत दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा प्रधानमन्त्रीको दाबी गर्न दिएको समय सीमा बिहीबार राति ९ बजे सकिँदासम्म कसैको पनि दाबी नपरेपछि ओली नै प्रधानमन्त्री बन्ने ढोका खुलेको हो । प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेताको हैसियतमा संविधानको धारा ७६ (३) अनुसार पुनः प्रधानमन्त्री बन्नुभएका ओलीले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ ।