काठमाडाैँ । रुपन्देहीकाे बुटवल मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार प्रहरी र स्थानीयबीच भएको झडपमा पेट्रोल बम प्रहार गरेको पाइएको छ । स्थानीयले प्रदर्शनका क्रममा ढुंगामुढा र पेट्रोल बम प्रहार गरेको कारण कयौँ सुरक्षाकर्मी घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता कृष्णप्रसाद पाण्डेले जानकारी दिए ।
प्रदर्शनका क्रममा गोली चलाउनुपर्ने स्थिति थियो ? भन्ने प्रश्नमा सहायक प्रजिअ पाण्डेले भने, ‘प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा हानेका छन्, अधिक संयमता अपनाउँदा पनि उताबाट पेट्रोल बम समेत प्रहार भएपछि गोली चलेको हो ।’
सहायक प्रजिअ पाण्डेका अनुसार आइतबार साँझ नै सर्वदलीय बैठक बसेर घटनाका विषयमा गम्भीरतापूर्वक छलफल भइसकेको छ । उनले भने, ‘प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राजनीतिक दल र स्थानीय समेतको उपस्थितिमा सर्वदलीय बैठकबाट विवाद समाधानका लागि सकारात्मक छलफल भएको छ । यद्यपि स्थिति कन्ट्रोलमै राख्न कर्फ्यु लगाइएको छ ।’
औद्योगिक क्षेत्र घोषणा भइसकेपछि स्थानीय वासीले जग्गा बापतको मुआब्जा पाइसकेको उनले बताए । यद्यपि कतिपयले मुआब्जा पाएर पनि विवाद सिर्जना गर्न खोजेको उनको जिकिर छ । जग्गा पाउने आसमा नयाँ मानिसहरू बस्तीमा आएका कारण समेत यस्तो समस्या देखिएको उनको भनाई छ ।
‘सर्वदलीय बैठकमा पनि उचित व्यवस्थापन गर्ने कुरा भएको छ, सहायक प्रजिअ पाण्डे थप्छन्, जग्गा पाउने आसमा नयाँ व्यक्तिहरू बस्तीमा आएको भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ । ‘
हालसम्म उक्त घटनामा प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको छ । गृह मन्त्रालयका अनुसार कपिलवस्तु वाणगंगा-१० का २० वर्षीय रमेश परियारको सनाखत भएको हो । उनको बेलुका साढे ६ बजे उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
घटनामा झन्डै ४५ जना घाइते भएका छन् । घाइते हुनेमा १६ जना सर्वसाधारण, १६ जना जनपद प्रहरी र १५ जना सशस्त्र प्रहरी घाइते भएका सहायक प्रजिअ पाण्डेले जानकारी दिए ।