नेवार समुदायले आज साँझ कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । प्रत्यक बर्षको बडादसैँको आठौँ दिनमा नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउने चलन परापुर्वकाल देखी चली आएको छ ।
नेवार समुदायमा विशेष महत्व रहेको कुछी भ्वयको अर्थ कुछी अर्थात दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन रहेको छ ।
कुछी भ्वयमा तरकारीका १२ थरी परिकार हुन्छन भने १२ टुक्रा छोयला राखिन्छ । केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ, घिरौला, भटमास लगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ ।
नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय् खानुपर्ने मान्यता रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ ।
नेवार समुदायका अग्रजहरुका अनुसार कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुलछी भ्वय भएको तर पछि अप्रभंस भएर कुछी भ्वय हुन गएको भन्ने मान्यता रहेको छ भने केहीले दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय रहन गएको बताउँछन ।
महाअष्टमीको दिन बिहान सो समुदायमा गुठी र टोल छिमेक मिलेर संयुक्तरुपमा काटेर भाग लगाएको राँगोको मासु घरघरमा भित्र्याउने प्रचलन रहेको छ । यसलाई दसैँको मासु भित्र्याएको भनिन्छ भने मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गरिन्छ र मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ ।