दाङ : वर्षभरिमा सबैभन्दा धेरै मासु खपत हुने चार्ड भनेकै दसैं हो । यहि दसैं र तिहारलाई मध्यनजर गर्दै विभिन्न स्थानमा खसी बोकाहरु बेचेरै वर्षभरि घर गुजारा चलाउनेहरु पनि छन ।
दाङको लमही नगरपालिका वडा न- ८ निवासी सुनिता बुढाथोकीले यसपालीको दसैँ र तिहार लागि २४ वटा खसी तयार पारेकी छन् । ७ बर्षदेखि घरमा खसीबोका पाल्दै आएकी बुढाथोकीले पोहोर साल १७ वटा खसी बिक्री गरेकी थिईन् । सुरुमा ४ वटा बाख्राबाट पालन शुरुवात गरेकी उनलाई अहिले आफ्ना बाल बच्चाको पठनपाठन र घर खर्च चलाउन कुनै समस्या छैन्।
"मेरो घरमा २४ वटा खसी तयार थिए । यहि खसीबोका बेचेर छोराछोरी पढाउने र घर खर्च चलाउने गरेको छु", बुढाथोकीले भनिन ।
लमही नगरपालिका भित्र ४ वटा सामाजिक उद्यमी महिला सहकारी संस्थाहरु छन् । ती सहकारीहरुले व्यवसायिक बाख्रा पालनको लागि किसानहरुलाई लगानी गर्दै आएका छन् ।
जसमा निलकमल, कर्मठ, दिपन र समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्था लगायतले यसवर्ष पनि बोका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई दशैंको लागि खसीवोका बिक्री गर्न सफल भएका छन् ।
तर, यसवर्ष भने, खसीवोकाको माग भन्दा उत्पादन बढी भएका कारण किसानहरुले तयार बनाएका खसीबोकाहरुले बजार नपाउँदा चिन्तित हुन पुगेका छन् ।
यस्तै, आफुहरुले पालेर तयार बनाई सकेका खसीवोकाले बजार नपाउदा चिन्तित हुनु परेको दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष पुनम गिरीले बताएकी छिन्।
नेपाल कागजसंगको कुराकानीमा उनले भनिन्, "स्थानीय स्तरमा महिलाहरु द्धारा तयार पारिएका खसीवोकाहरुको बिक्रीका लागि स्थानीय तहले पनि चासो दिनुपर्छ।"
दसैं, तिहार जस्ता चाडपर्वमा अत्यधिक मासुको माग हुने हुँदा खाध्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरले आम उपभोक्ताहरूको आवश्यकतालाई मध्यनजर गरी स्वस्थकर खसी बोका किसानबाट खरिद गरी विगतका केही वर्षयता काठमान्डौ पठाउने क्रम जारीलाई प्राथमिकता दिदै आएको छ ।
दाङबाट मात्रै गत वर्ष ८ सय १ वटा खसी बोका काठमाडौ पुगेका थिए । हाल दाङमा उत्पादन बढी भएकाले माग बढेको अवस्थामा आवश्यक अनुसार खसीबोकाको मागलाई पुरा गर्न सकिने खाध्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड तुल्सिपुरका प्रमुख नकुल चौधरीको भनाई रहेको छ ।
लमही नगरले पालिकाको वडा न- ७, ८ र ९ नम्बर वडा लाई बाख्राको पकट क्षेत्र भनेर घोषणा गरेको छ । उत्पादन बढेसंगै हाल किसानहरुले खसी बोका बिक्री वितरण गर्न नपाउँदा समस्यामा परेको र किसानहरुका समस्या समाधानका लागि सरकारी स्तरबाट कुनै ठोस नीति नआएको बाख्रा पालक किसान बुढाथोकीले गुनासो गरिन् ।
दाङ लगाएका विभिन्न स्थानमा हेफर संस्थाले समूह गठन गर्दै बाख्रा पालनका लागि तालिम , उपचार , उत्पादन भएका खसी बोकाको बजारीकरण र कृषि क्षेत्रमा लगानी गर्दै आएको छ । फलस्वरूप अहिले दाङमा खसीबोकाको उत्पादन बढेको देख्न सकिन्छ ।