चीनबाट स्वास्थ्य सामाग्री आउँदै, चीनका राज नारायण शाहले गरे ४४ कन्सनट्रेटर्स सहयोग
काठमाडौँ । नेपालमा कोभिड-१९ महामारीको दोस्रो लहरले धेरै ठुलो समस्या सिर्जना भएपछी नेपाल बाहिर बसेका नेपालीहरुले सहयोग गर्ने क्रम दैनिक बढेको छ । दैनिक रूपमा सङ्क्रमणको सङ्ख्या सँगसँगै मृत्यु दर पनि बढ्दै जाँदा देशवासी मात्रै नभइ प्रवासी तथा विदेसिएका नेपालीहरू घरदेश र घरपरिवार सम्झेर चिन्तित बनेका छन । मुलुकको पछिल्लो अवस्थाको सामना गर्न र कोभिड महामारीको नियन्त्रण तथा रोकथामका लागि सहयोग गर्न बिदेशमा रहेका नेपालीहरु लागिपरेका छन् ।
चीनका राज नारायण शाह
चीनमा रहेका नेपाली, चिनियाँ नागरिक तथा बेइजिङस्थित चीनका लागि नेपाली दूतावास पनि नेपालमा कोभिड-१९ को नियन्त्रण तथा पछिल्लो अवस्थामा देखिएको अक्सिजन सिलिण्डरको अभाव र आवश्यक चिकित्सा सामग्री नेपालसम्म पुर्याउन सक्रिय रूपमा लागेका छन् ।
कोरोनाको दोस्रो लहरसँगै नेपालमा अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्रीको चरम अभाव हुन थालेपछि परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्ना नियोगहरूलाई सम्बन्धित मुलुकसँग सहयोग जुटाउनका लागि पहल गर्न आग्रह गरे पछी बिदेशमा रहेका कुटनीतिक निकाय,एनआरएनए,नेपाली संघ सँस्था र नेपाली ब्याबसायीहरु सहयोग गर्न तल्लिन देखिएका छन ।
हाल एनआरएनए मध्यपुर्वबाट ५६० सिलिण्डर आईसकेको छ भने चिनबाट पनि सयौ अक्सिजन सिलिण्डरका साथमा कन्सनट्रेटर्स लगायतका स्वास्थ्य सामाग्री चीनमा रहेका नेपाली ब्याबसायिहरु र बिभिन्न संघ संस्थाहरुको पहलमा नेपाल भित्रिएको छ ।साङघाईमा विगत लामो समयदेखि बस्दैआएका नेपालको सिराहाका राज नारायण शाहले २ लाख चिनियाँ युआन(३६ लाख रुपैया) बराबरको ४४ वटा कन्सनट्रेटर्स सहयोग गरेका छन ।
नेपाली राजदुताबास चीनले चीनमा रहेका नेपालीबीच अनौपचारिक रूपमा नेपालमा देखिएको विषम परिस्थितिमा के कसरी सहयोग गर्न सकिन्छ भनी अनलाइन बैठकको आयोजना गरेको थियो । सोही बैठकमा साङघाई निवासी राज नारायण शाहले दुई लाख युआन सहयोग गर्ने बताएका थिए ।
उनको यो सहयोगबाट मात्रै ४४ वटा कन्सनट्रेटर्स प्राप्त भएको दूतावासले जनाएको छ । दुताबासले सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्दै सहयोग बढने क्रम जारी रहेको बताएको छ । नेपालमा भएको कोरोना महामारीका लागी चिनियाँ संस्था चसिनले २२, क्वाक्वाले १०, र होङसी शिवम सिमेन्टले सहयोग गरेको २०० कन्सनट्रेटर्स गइसकेको कूटनीतिक नियोग उपप्रमुख सुशील कुमार लम्सालले जनाए । हालसम्ममा चीनमा रहेका नेपालीको सहयोगमा ५४० वटा सिलिण्डर तथा ३२३ वटा कन्सनट्रेटर्स संकलन भईसकेको र अरु थपिने क्रम जारी रहेको उनले बताए ।
नेपाली दूतावासले नेपालमा तत्काल आवश्यक अक्सिजन सिलिण्डर, भेन्टिलेटर्स तथा कन्सनट्रेटर्सहरूका लागि विभिन्न चिनियाँ निकायसँग सम्पर्क गर्ने तथा प्राप्त सहयोग संकलन गर्ने कार्य गरिरहेको छ । राजदूत महेन्द्र बहादुर पाण्डेले चिनियाँ विकास सहायता निकायका उपाध्यक्ष तङ पोछिङसँग मे १० मा भेटेर चीन सरकारले नेपाललाई कोभिड-१९ को नियन्त्रणका लागि प्रदान गरेको पाँच मिलियन चिनियाँ युआन बराबरको अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सामाग्री छिटो पठाउन आग्रह गरेका थिए ।
यही जेठ १ गते देखि ४ गतेसम्म निगमको विमानले बेइजिङबाट स्वास्थ्य सामग्री ल्याईरहेको छ । विमानले दैनिक ५५० वटा सिलिण्डरका साथै चिनियाँ नागरिक तथा संस्थाको सहयोग र चीनमा रहेका नेपालीको सहयोगबाट संकलन भएका स्वास्थ्य सामग्री ल्याईरहेको छ । यसैबिच बेइजिङमा रहेको नेपाली दूतावासले चिनियाँ विकास सहायता निकायलाई अक्सिजन जेनेरेशन प्लान्टका लागि पाँच मिलियन युआनको सहयोगका लागि पनि लिखित अनुरोध गरेको छ ।
यसमा चिनियाँ पक्ष सकारात्मक रहेको बताइएको छ । नेपालमा कोरोना महामारी भयावह बन्दै गएको वर्तमान अवस्थामा चीनबाट यस विरूद्धको खोप नेपालमा पठाउन राजदूत महेन्द्रबहादुर पाण्डे सक्रिय रहेका छन । उनको पहलमा यसै मे महिनाको अन्तसम्ममा दश लाख खोप नेपाल भित्रिने निश्चित भएको दुताबास स्रोतले बतायो ।