नेपालगन्ज : लुम्बिनी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र हमाल यतिबेला गृह नगर नेपालगन्जमा छन् ।
केही हप्ता अघि वन मन्त्री बनेका हमाल आफ्नो नगरवासीसंग अन्तरक्रिया गर्न नेपालगन्ज आइपुगेका हुन् । हमाल नेपालगन्ज आएको दिनदेखि नै बधाई एवम् सम्मान थापिरहेका छन् ।
विभिन्न संघ संस्थाले मन्त्री हमाललाई नेपालगन्जमा सम्मान एवम् बधाई गरिरहँदा नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाले समेत उनलाई सम्मान गर्ने क्रम जारी छ।
यसैबीच, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ ले पनि मन्त्री हमाललाई बिहीबार भव्य सम्मान गरेको छ। वडाको कार्यालयका आयोजना गरिएको सम्मान कार्यक्रममा हमाललाई ११ किलोको मालाले स्वागत तथा सम्मान गरिएको हो।
सम्मान पश्चात् सामाजिक संजालमा मन्त्री हमालले ग्रहण गरेको ११ किलो माला सहितको तस्वीर सार्वजनिक भइरहेका छन् । सार्वजनिक हमालको तस्वीरमा सर्वसाधारणले मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।
कतिपयले बधाई दिएका छन् त कतिपयले काम नै नगरि ११ किलोको माला लगाइनु उचित नभएको बताएका छन् । जे होस् ११ किलोको माला सहित सम्मानित भएको क्षण मन्त्री हमालको जीवनको पहिलो क्षण नै होला।
सम्मानित तरिकाले ११ किलोको माला ग्रहण गरिरहँदा जनताप्रतिको उत्तरदायित्व कति ग्रहण गरे त्यो त मन्त्रीलाई नै थाहा होला। तर जनताप्रति उत्तरदायी बन्न सके यस्ता सम्मान मन्त्रीले जीवनकालमा धेरै पाउनेछन् । त्यसो त नेपालगन्जवासी लगायत समग्र जनताले मन्त्री हमालबाट धेरै आशा राखेका छन् ।