देउखुरी : लगातारको वर्षाले देशभर भित्र्याउन ठिक्क पारेको धानबालीमा क्षति पुर्याएको छ । केहीले धान थन्क्याउन काटिसकेका थिए, भने अझै काट्ने तर्खरमा छन् । ऋण धन गरेर खेतिपातीका लागि बिउपल र मलजल गरेर भित्र्याउन ठिक्क परेको अबस्थामा बेमौसमी बर्षाले क्षति गरेपछि आम कृषको अवस्था दयनीय छ ।
यसैबीच, पीडित किसानलाई राहत उपलब्ध गराउन जोडदार माग राख्दै नेपाली कांग्रेस लमही नगर समितिले लमही नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । बित्र्याउनै लागेको धानमा पुग्न गएको क्षतिको विवरण यथासिघ्र संकलन गरि किसानलाई तत्कालै राहत उपलब्ध गराउन लगायतका माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
नेपाली कांग्रेस लमही नगर समितिका नगर सभापति सन्तोष बुढाथोकीको हस्ताक्षर सहितको ज्ञापनपत्र लमही नगर समितिका पदाधिकारी सहितको टोलिले शुक्रबार लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीलाई ज्ञापनपत्र बुझाइएको हो ।
"यहि मिति २०७८ साल ७ महिना १ गतेदेखि लगातार परेको अविरल वर्षातका कारण किसानले लामो समय खर्चेर गरेर लगाएको बालीनाली, तरकारी फलफूल तथा भौतिक संरचना समेत नष्ट भएको छ। साथै, यस नगरपालिका भित्र ठूलो क्षती भएको देखिन आएकोले किसानहरु निकै मर्कामा परेको हाम्रो पार्टी नेपाली कांग्रेस लमही नगर समितिले महशुस गरेको छ । किसानहरुले विभिन्न बैकबाट ऋण निकालेर लगाएको लगानी डुबेको छ । किसानहरुको मुख्य आम्दानीको स्रोत कृषी बालीनै नष्ट भएको अवस्थामा किसानहरुले कसरी बैंकको सावा र ब्याज बुझाउने सक्लान् ? मर्कामा परेका किसानहरुले वर्ष दिनलाई परिवार कसरी पाल्न र साहुको ऋण तिर्न लगाइएको बालीनाली नष्ट भएको हुदाँ यस्तो अवस्थामा राज्यलाई तिर्नुपर्ने कर, राजश्व कसरी तिर्लान् ? तसर्थ यस्तो दैविक विपत्तीको बेलामा मानव धर्मका हिसाबले पनि सहानुभुती हुनुपर्ने सबैको दायित्व हो " ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
यथासिघ्र लमही नगरपालिबाट समिति निर्माण गरि स्थलगत अध्ययन र अनुगमन गरि सत्य तथ्य प्रमाणका आधारमा नगरपालिकाले पीडित किसानलाई राहत सहुलीयत दिलाई कर प्रणालीमा समेत राहत दिइयोस् भन्ने माग गर्दै शुक्रवार नगर प्रमुख कुलबहादुर केसीलाई ज्ञापनपत्र बुझाइएको हो ।
यस कार्यमा नगरपालिकालाई आवश्यक साथ र सहयोगको खाचो परे नेपाली कांग्रेस नगर समितिले गर्ने समेत प्रतिवद्धता जनाएको छ । यता लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले किसानको यो दुखमा काङ्ग्रेसले चासो देखाएकोमा खुशी महसुस भएको बताए । साथै किसानको मनोबल हेर्दा सारै चिन्ताजनक अबस्था देखिएको छ । हाल नगरपालिकाले सम्पुर्ण वडालाई क्षतिको विवरण संकलन गर्न लगाइरहेको र कृषि ज्ञान केन्द्र र २ तहका सरकारसंग सहकार्य गर्ने समेत उनले बताए ।