बर्दिया : अविरल वर्षापछि आएको बाढीले अन्नका लागि उर्वरभूमि मानिने बर्दियामा ठूलो क्षति पुर्याएको छ। पाकेर ठिक्क भएको धान भित्राउने बेलामा वर्षा सहितको बाढीले नष्ट गरेको हो ।
वर्षासंगै आएको बाढिले देशका विभिन्न स्थानमा किसानको बाली, पशु चौपाया लगायत बहुआयामिक क्षेत्रमा पारेको प्रभावको स्थलगत निरिक्षण गर्न प्रधानमन्त्री शेर बहादुर देउवा यतिबेला काठमाडौं बाहिर छन् ।
बाढी पहिरो बाट प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गर्न सुदुर पश्चिम पुगेका प्रधानमन्त्री देउवा सहितको उच्च स्तरिय टोली बर्दियाको राजापुरमा पनि पुगेको छ।
स्थलगत निरीक्षण पछि प्रधानमन्त्री शेर बहादुर देउवाले नागरिकको पिडामा मलम लगाउने काममा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले बर्षा सँगै आएको बाढिले विस्थापित एवं विपदमा परेका नागरिकलाई मन्त्री परिषदको बैठक बसि उचित राहतको प्याकेज ल्याउने वचन समेत दिएका छन् ।
साथै, देउवाले यस क्षेत्रको हजारौं हेक्टर क्षेत्रफल जमिनमा उत्पादन भएको धानबाली नष्ट भएको हुँदा पिडामा रहेका जनताको घाउमा मलम लगाउने कार्यक्रम ल्याउने पनि बताएका छन् ।
त्यस्तै, अर्थमन्त्री जनार्दन शर्माले बर्षापछि आएको बाढीले देशैभर मानवीय, भौतिक, पशु चौपाया, अन्न बाली तथा बहुआयामिक क्षेत्रमा भएको क्षति लगायत समसामायिक विषयको बारेमा संचारकर्मिलाई प्रतिक्रिया दिएका छन् । अहिलेको परिस्थितीलाई कसरी पुर्ववत रुपमा फर्काउन सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री सहितको टोली स्थलगत अनुगमनमा आएको अर्थमन्त्री शर्माले बताए ।
अविरल वर्षापछि आएको बाढिले गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा काटेको धानलाई पुर्ण रुपमा क्षति पुर्याएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा सहितको टोलीले राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकामा कर्णाली नदीले पुर्याएको क्षतिको हेलिकप्टरद्धारा निरिक्षण गरेका हुन् ।