बर्दिया : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बर्दियाको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।
बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न सुदुरपश्चिम पुगेका नेता पौडेल आइतबार बर्दिया पनि पुगेका थिए। पौडेलले बर्दियाको बाढी प्रभावित क्षेत्र राजापुर नगरपालिका र गेरुवा गाउँ पालिकाको अवलोकन गरेका हुन् ।
नेता पौडेलले बाढी प्रभावित क्षेत्रका किसानहरुसंग कुराकानी समेत गरेका थिए। किसानसंगको कुराकानीको क्रममा धानबाली र जग्गा कटानको नोक्सानी बेहोर्नु परेका किसानहरूका लागि छिटोभन्दा छिटो क्षतिपूर्ति सहितको राहतका लागि सरकारसंग आफुले आग्रह गर्ने बताए ।
साथै, बर्दियाको मधुवन नगरपालिकाले पार्टी कार्यकर्ता कार्यक्रमको आयोजना समेत गरेको थियो। कांग्रेसमा पुस्तान्तरण नभई रुपान्तरणको आवस्यकता रहेको एवम् आफु सिद्धान्त र व्यवस्थाका लागि लडिरहेको हुनाले समयमा नै महाधिवेशन हुनुपर्ने कुरामा जोड दिएको नेता पौडेलले कार्यक्रममा बताए।
त्यस्तै, अरुलाई लोकतन्त्रको पाठ सिकाउने कांग्रेसको नेतृत्वले आफु लोकतान्त्रिक पद्धतीमा ढल्नु पर्छ कि पर्दैन भनी प्रश्न समेत नेता पौडेलले गरेका थिए। कार्यक्रममा बोल्दै उनले पार्टीलाई कमजोर बनाई व्यक्ति बलियो बनाउन नेतृत्व पंक्ति लागि परेकोमा दुख प्रकट समेत गरेका थिए।
पौडेलले कार्यक्रममा बोल्दै भने, "लोकतन्त्रमा निमुखाले न्याय र विपन्नलाई आय पाउने व्यवस्था भएकाले त्यस तर्फ सबैको ध्यान केन्द्रित भएमा मात्र लोकतान्त्रिक व्यवस्थाले सार्थकता पाउने छ। पार्टी न्याय, निश्पक्ष तथा लोकतन्त्रमा चलेमा समयमा नै महाधिवेशन सम्पन्न हुने भएकाले पद्धती र सिद्धान्तका लागि हामी लडिरहेका छौँ । महाधिवेशनमा सही नेतृत्व चयनका लागि म सम्पुर्ण कार्यकर्तालाई आग्रह गर्न चाहन्छु।"
साथै, कांग्रेसमा पुस्तान्तरण भन्दा पनि रुपान्तरणको जरुरी रहेको नेता पौडेलले औल्याएका थिए। बर्दिया पश्चात् पौडेल आइतबार नै बाँके पुगेका थिए। बाँकेमा पनि बाढी प्रभावित क्षेत्रको अवलोकन एवम् कार्यकर्ता भेटघाट गरि काठमाडौं फर्किने उनलो योजना रहेको बताइएको छ।