इश्वोरी पौड्याल, बुटवल । जेष्ठ नागरिकहरुले ईलाका प्रशासन कार्यालय बुटवलका कर्मचारीहरुको चरम लापरबाहीका कारण लामो समयसम्म लाइन लाग्दापनि काम हुननसकेको गुनासो गर्नुभएको छ ।
सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा सहुलियत, गाडी भाडामा ५० प्रतिशत छुट, सरकारी कार्यालयमा लाइन लाग्न नपर्नेलगायत अन्य सुविधाहरु दिँदै आएता पनि बुटवलको ईलाका प्रशासन कार्यलयको नागरिकता फाँटबाट भने जेष्ठ नागरिकहरुले पाउनु पर्ने सुबिधा पाउनुभएको छैन ।
उक्त प्रशासन कार्यलयमा जेष्ठ नागरिकहरुले टाढा-टाढा बाट आएर पनि लाइनमा बस्नु परेको गुनासो गर्नुभएको छ । कंचन गाउँपालिका निवासी ८८ वर्षिय दिल बहादुर थापा मगर भन्नुहुन्छ, "सजिलै समयमा हुनुपर्ने काम भएन, हामीले यो बुढेसकालमा सास्ती बेहोर्नु परेको छ, हाम्रो गुनासो कस्लाई भन्ने ? बिहान ७ बजे घरबाट हिँडेको, घरमा छोरा-छोरी छैनन, लगभग एक हप्ता भयो मेरो नागरिकताको काम हुनसकेको छैन ।"
त्यस्तै कंचन गाउँपालिका वडा नं-३ का जेष्ठ नागरिक रुप नारायण उपाध्यायको गुनासोपनी उस्तै छ । उहाँ भन्नुहुन्छ, "हेर्नुहोस् बल्लबल्ल लाइन बसेर पालो आउँछ अनी अन्तिममा कर्मचारीले कागज नपुगेको भन्छन, अनी दिनभरी लाइन बसेर काम हुन्न भनेपछी आँफै सोँच्नुस् हामीले कती दु:ख पायौँ होला ?"
अर्का जेष्ठ नागरिक ६९ वर्षीय चुबा गुरुङको पिडापनी अरुको जस्तै छ । सैनामैना नगरपालिका सालझण्डी निवासी गुरुङ भन्नुहुन्छ, "तपाईं पत्रकारहरु आज आएर मात्र थाहा पाउनुभयो, हामी जस्ता उमेर पाकेका धेरै जनाले प्रत्यक दिन दुख पाइरहेका छन तर हाम्रो कसैले वास्तापनी गर्दैन । यहिँ बाहिर प्रहरी-प्रशासनका हाकिमहरु हिँडडुल गर्छन तर नदेखेको जसरी जान्छन । यिनीहरुपनी त पछि वृद्ध होलान त्यस् बेला हाम्रो पीडा बुझ्लान नि ।"
पावर र पहुंचवालाहरु लाइन नलागेर भित्र छिर्ने र काम गराएर निस्कने गरेको जेष्ठ नागरिकहरुले बताउनुभएको छ । करीब एक हप्ता देखि आफुहरु प्रत्यक दिन कार्यालय धाउँदापनी काम नहुँदा आफुहरु आहत भएको जेष्ठ नागरिकहरूले गुनासो गर्नुभएको छ ।