राजपुर गाउँपालिकाले वडा नम्बर २ स्थित निर्माणाधिन माछा पोखरीको अनुगमन गरेको छ । पोखरीका नाममा नदीजन्य पदार्थ उत्खनन् भएको र राजश्व छली भएको आरोप लागेपछि गाउँपालिकाले उक्त पोखरीको अनुगमन गरेको हो । स्थानीय प्रकाश जिसीले आफ्नो जग्गामा पोखरी निर्माणका लागि खाल्डो खन्नुभएको छ । उक्त खाल्डो खन्दा निस्कीएको नदीजन्य पदार्थ ( मिस्कट) राजश्व छली गरेर बिक्री गरेको भन्दै आरोप लागेको थियो । तर गाउँपालिकाले भने उक्त पोखरीबाट नदीजन्य पदार्थ राजश्व छली भएर बिक्री नभएको निष्कर्ष निकालेको छ ।
पोखरी खन्दा निस्केको माटो पोखरीको डिल र पोखरी क्षेत्रमै थुपारेर राखिएको छ । ‘पोखरी खन्दा निस्केको माटो सबै पोखरीको डिल र पोखरी क्षेत्रमा छ नि,’ जग्गाधनी प्रकाशले भन्नुभयो ‘कसरी राजश्व छली गरेर मिस्कट बिक्री भयो?’ राजश्व छली गरेर बिक्री गरेको भन्ने आरोप सरासर झुठ रहेको भन्दै उहाँले गाउँपालिकालाई बुझाउनु पर्ने राजश्व आँफूले बुझाएको दाबी समेत गर्नुभयो । ‘पोखरी खन्दा निस्केको केहि परिमाणको मिस्कट मैले प्रयोग गरेको हुँ,तर मैले राजश्व छलेको भने हैन,’ उहाँले भन्नुभयो ‘एक लाख ८३ हजार रुपैयाँ मैले गाउँपालिकालाई बुझाएको हुँ, तर ८३ हजार रुपैयाँ मात्रै बुझाएको भनेर ममाथि गलत आरोप लगाईयो ।’
गाउँपालिकाका अध्यक्ष लोकराज केसीले पनि पोखरी निर्माणका क्रममा कसैले राजश्व छली नगरेको दाबी गर्नुभयो । गाउँपालिकालाई १ लाख ८३ हजार रुपैयाँ राजश्व बापत आएको उहाँले बताउनुभयो । ‘फल्नो फल्नोको मिलेमतोमा राजश्व छली गरेर नदीजन्य पदार्थ बिक्री भएको भनेर गलत आरोप लगाईएको छ,’ गाउँपालिका अध्यक्ष केसीले भन्नुभयो ‘गाउँपालिकाले नियमानुसार आफ्नो काम गरेको छ,यसमा कुनै शंका छैन ।’ राजश्व छलीमा केसीको समेत संलग्नता रहेको भनेर आरोप लगाईएको थियो ।
गाउँपालिकाका उपाध्यक्ष धनपती यादवले पनि राजश्व छली भएको भनेर गलत आरोप लगाईएको र गाउँपालिका नियम भन्दा बाहिर गएर काम नगरेको दाबी गर्नुभयो । ‘हद भन्दा बढि आरोप सैह्य हुँदैन,ब्यक्तिगत रिसिईबी साँध्नका लागि जे पनि आरोप लगाईदिने?’ उहाँले भन्नुभयो ‘यो पोखरी निर्माणका क्रममा कहाँ कसरी राजश्व छली भयो? गाउँपालिकामा आएर सबै हेर्दा हुन्छ ।’ गाउँपालिकाका प्राविधिक सहित पोखरी अनुगमनमा पुगेको गाउँपालिकाले उक्त पोखरीको नापजाँच समेत गरेको छ ।
उक्त नापजाँचका आधारमा गाउँपालिकाले आफ्नो अध्ययन प्रतिवेदन सार्वजनिक समेत गर्ने भएको छ । ‘जुन खालको आरोप लागेको छ, त्यो आरोपको एकिन जाँच गरेर प्रतिवेदन सार्वजनिक गर्ने छौँ,’ गाउँपालिका अध्यक्ष लोकराज केसीले भन्नुभयो ‘त्यहि भएर हामीहरुले प्राविधिक सहितको टोली सहित पोखरीको नापजाँच गरेका छौँ ।’ गाउँपालिकाले पोखरीबाट निकालिएको माटो, पोखरीको लम्बाई चौडाई तथा गहिराई नापेर उक्त पोखरीबाट निकालिएको माटो तथा मिस्कटको एकिन नतिजा निकाल्ने भएको छ ।