नेपालगन्ज : नेपालगन्जमा 'लक्ष्मी जयन्ती'को अवसरमा एक साहित्य कार्यक्रम सम्पन्न गरिएको छ। अन्तरास्ट्रिय नेपाली साहित्य समाज लुम्बिनी प्रदेशको आयोजनामा "११३ औं लक्ष्मी जयन्ती तथा यात्री कवितामा कार्यपत्र प्रस्तुति कार्यक्रम" शनिबार सम्पन्न गरिएको हो।
साहित्यकार किरण आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राज्ञा हरि तिमिल्सिना प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै, विशिष्ट अतिथिको रुपमा पुर्व प्राज्ञा सनत कुमार र प्राडा जनार्दन शर्मा आचार्य विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी सदस्य कल्पना खरेल एवम् विभिन्न साहित्यकार, पत्रकार , समाजसेवी, शिक्षाप्रेमी, कानुन व्यवसायी लगायतको समेत कार्यक्रममा उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाली साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटाको कृति यात्री कवितामा कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । साहित्यकार किरण आचार्य, लेक प्रसाद प्याकुरेल, पत्रकार शुक्रऋषि चौलागाईं र साहित्यकार सुमित्रा न्यौपानेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
साथै, कार्यक्रममा साहित्यकार किरण आचार्यको कथा "क्यान्टोन्मेन्ट"को समीक्षा समेत गरियो। कथाको समीक्षा भेरी साहित्य समाजको केन्द्रिय सदस्य एवम् प्राध्यापक मिना बरालले गर्नुभएको थियो।
महाकवि देवकोटाले नेपाली साहित्यमा छोडेको छापलाई जोगाउन आवश्यक रहेको कार्यक्रममा उपस्थित साहित्यकारहरुको जोड थियो।
त्यस्तै, नेपालगन्ज उपमहानगरपालिका कार्यकारी प्रमुख गुरुदत्त सुवेदीले नेपालगन्जको साहित्यलाई अगाडि बढाउन आफ्नो तर्फबाट हुने जुनसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।