बर्दिया : बर्दिया जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँ पालिकामा बस्ने सोनाहा जातिको सदियौंदेखि चलिआएको परम्परागत पेसा संकटमा परेको छ।
बालुवा चालेर सुन खोज्ने र माछा मार्ने एवम् ढुङ्गा चलाउने परम्परागत पेसामा सामुदायिक वन र बर्दिया राष्ट्रिय निकुञ्जले रोक लगाएपछि उनीहरुको सदियौं देखि चलिआएको परम्परागत पेसा संकटमा परेको हो ।
सोनाहा जातीको बसोबास बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा करिव ७ सय २९जनाको संख्यामा सोनाहाको बसोबास रहेको छ।

निकुञ्ज घोषणा हुनु अघि सोनाहा जातिका मानिसहरू विना अवरोध नदीको बगरमा छाप्रो बनाएर बस्दै आएका थिए । बगरकै बालुवामा सुन चाल्ने, नदीमा माछा मार्ने पेसा गरी जिविकोपार्जन गर्दै आएका थिए ।
खेती गर्ने जमिनको नाममा कर्णाली नदिको बगर मात्र भएका र त्यही बगरमा सुन फलाउने सोनाहरुलाई सामुदायिक वन तथा बर्दिया राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्र भित्रका नदीहरुमा सुन चाल्न रोक लगाएपछि भने उनीहरुको दैनिकी कष्टकर बन्दै गएको छ ।
पछिल्लो समयमा परम्परागत पेसाबाट जीविका चलाउन गाह्रो भएपछि सोनाहहरुले वैकल्पिक पेशा अंगाल्न थालेका छन् उनीहरु सामुहिक वंगुरपालन, कुखुरा पालन र माछापालन लगायत किराना पसल तर्फ आकर्षीत भएका छन् । केहीले भने सामुहिकरुपमा होमस्टे सञ्चालनमा ल्याएका छन् ।
नदि बगरलाई कर्मथलो बनाएका सोनाहा जातिले अल्पसंख्यक सीमान्तकृत आदिवासी जनजातिको रूपमा सूचीकृत गर्न माग गर्दै आएका छन् । तर, राज्यले अहिलेसम्म कुनैपनी जातीय समुहमा सुचिकरण गरेको छैन । यसले आफुहरुलाई राज्यको सेवा सुविधा लिन र नयाँ तरिकाले जीवन अगाडि बढाउन समस्या भएको सोनाहाहरु बताउँछन।
सर्वोच्च अदालतले २०७२ मंशिर १६ गते सोनाहा जातीलाई लोपोउन्मुख आदिवासी जनजातिको रुपमा सुचिकृत गरी अन्य जाती सरह नै सामाजिक सुरक्षा प्रदान गर्न सरकारको नाउँमा आदेश जारी गरेको थियो ।सर्वोच्च अदालतको फैसला कार्यान्वयन प्रक्रिया अगाडी अझैसम्म पनि अगाडी बढेको छैन । झन जातीय पहिचान पनी नहुँदा उनीहरुको अस्थित्व नै संकटमा परेको छ ।
पल्टिदेवि सोनाहा भन्नुहुन्छ, "हामीलाई सुन चाल्न धेरै अप्ठ्यारो छ। पहिले बाउ बाजेहरुले चाल्थे सुन अहिले हाम्रो समयमा सुन चाल्न अप्ठ्यारो भएको छ। निकुञ्ज भित्र पनि सुन चाल्न जान्थे कसैले केहि पनि नभन्ने तर अचेल वन समितिहरुले लागेछ्न सुन चाल्न दिदैन धेरै समस्या छ ।"

त्यस्तै, "हाम्रो पेसा भनेको सुन चाल्ने माछा मार्ने हो तर निकुञ्ज र सामुदायिक वनका कारणले हामीलाई समस्या परेको छ। निकुञ्जको र सामुदायिक वनले आफ्नो निति नियम ल्याएको छ भने हाम्रो सदियौं देखि चलिआएको पेसा छोड्न परेको छ र जिविकापार्जन गर्न अन्य व्यवसाय गर्न बाध्य छौं । साथै मैले त सानो किराना पसल गरेर जीविकापार्जन गरेको छु।", भागिराम सोनाहले दुखेसो सुनाउनुभयो।

त्यसो त, सोमही सोनाहाको दुखेसो पनि उही छ। "राष्ट्रिय निकुञ्ज र सामुदायिक वनले हामीलाई सुन चाल्न दिदैन ।नेपाल सरकारले सुचिकृत नगरिदिदा हामी धेरै सेवा सुविधाबाट वन्चित भएका छौं।" उहाँले भन्नुभयो, "अरु जाति सरह हामीले पनि सेवा सुविधा पाउनुपर्ने हुन्छ।यो हाम्रो माग पनि हो।"
