नेपालगन्ज : साना किसानको उद्यमशीलता विकास तालिम नेपालगन्जमा सम्पन्न भएको छ। यूकेएड सिप परियोजनाको सहयोग र साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. इलाका कार्यालय नेपालगञ्जको आयोजनामा ७ दिने उद्यमशिलता विकास तालिम सोमबार सम्पन्न गरिएको हो।
यही कार्तिक ९ गते इलाका कार्यालयका इलाका प्रबन्धक शेर बहादुर चौधरीद्वारा तालिमको उद्घाटन गरिएको थियो। कार्तिक ९ गतेदेखि
१५ गतेसम्म संचालन गरिएको तालिममा २६ जनाले सहभागिता जनाएका थिए।
बर्दिया जिल्लाका १३ वटा साना किसान कृषि सहकारी संस्था लिमिटेडबाट वैदेशीक रोजगारबाट फिर्ता भइ आएका र हाल व्यवसायमा संलग्न सदस्य वा परिवारका छोराछोरीमध्येबाट २६ जनाको सहभागितामा उक्त तालिम सम्पन्न गरिएको हो ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबाट प्रशिक्षकहरु सुन्दरश्याम घिमीरे र राजबहादुर चौधरीले प्रशिक्षकत्वमा सञ्चालन भएको तालिम कार्यक्रमको सञ्चालन इलाका कार्यालयका अधिकृत पदमराज रेग्मीले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. सिप परियोजना फिल्ड संयोजक पारशमणी मिश्रले वैदेशीक रोजगारीमा जाने साना किसान परिवारमा वैदेशीक रोजगारीमा जाँदा सुनौलो भविष्य कर्जा प्रदान गर्ने र सो कर्जा बराबरको दुर्घटना बिमा बापतको अनुदान सिप परियोजनामार्फत उपलब्ध गराउने जानकारी दिनुभएको थियो।
साथै वैदेशिक रोजगारबाट फर्किनुभएका साना किसान परिवारभित्र समृद्धी कर्जा र सिप परियोजना अन्तर्गतका तालिम कार्यक्रमहरुको बारेमा पनि संयोजक मिश्रले जानकारी दिनुभएको थियो ।
कार्यक्रममा इलाका कार्यालय अधिकृत पदमराज रेग्मीले एसियाली विकास बैंक मार्फत प्राप्त ग्रामीण उद्यम कर्जा व्यवसाय गर्ने साना किसान सदस्यलाई ५० लाख सम्म सहुलीयत ऋण उपलब्ध गराउँदै आएको जानकारी दिनुभएको थियो।
त्यस्तै, सो कर्जा वैदेशीक रोजगारीबाट फिर्ता आउनुभएका साना किसान सदस्यमा समेत लगानी गर्ने विषयमा जानकारी उहाँले गराउनुभएको थियो । उक्त ७ दिने तालिम कार्यक्रमको साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. इलाका कार्यालय नेपालगञ्जका वरिष्ठ अधिकृत विष्णुप्रसाद कालाखेतीले समापन गर्नुभएको थियो ।