बर्दिया । विपी प्रतिष्ठान बर्दियामा स्वर्गीय दल बहादुर गुरुङको सालिक उहाँको आमा लगायत कांग्रेस नेता कार्यकर्ताहरुको हातबाट अनावरण गरिएको छ । जिल्लाको मधुवन नगरपालिका वडा नं।-६ मा रहेको प्रतिष्ठानमा १५ गते सोमबार एक कार्यक्रमका विच स्वर्गीय गुरुङको सालिक उहाँको आमाले अनावरण गर्नुभएको हो ।
वृद्ध आमाले आफ्नो छोराको सालिक सुमसुम्याउनु भएको थियो । आँखा समेत देख्न छाडिसकेको जिवनको अवरोहमा उहाँले गहभरी आँसु बगाउँदै सालिक सुम्सुम्याउँदै छोराको निधारमा टीका लगाइदिनुभएको थियो । निकै दुर्लभ र भावुक दृश्य उक्त कार्यक्रममा देखिएको थियो ।
तत्कालीन बिद्रोही ने.क.पा. माओवादीको संघातिक आक्रमणबाट २०६७ कार्तिक २९ गते उहाँको निधन भएको थियो । तत्कालीन नेपाली कांग्रेस क्षेत्र नं.-३ बर्दियाका कोषाध्यक्ष र सानोश्री तरुण दलका अध्यक्ष समेत रहनुभएका स्वर्गीय गुरुङ कांग्रेस पार्टी प्रति ईमानदार, कर्तव्यनिष्ठ, लगलशिल र विश्वाशिलो सिपाही भएको यहाँँका नेताहरु बताउँछन । संघातिक आक्रमणबाट ज्यान गुमाएको ११ बर्ष पछि उहाँको सालिक स्थापना गरिएको हो ।
सालिक अनावरण कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय समिति सदस्य तथा प्रतिनिधि सभा सदस्य किशोर सिंह राठौर, महासमिति सदस्य अरुण सिंह राठौर, महासमिति सदस्य बिद्या प्रशाद खनाल, महासमिति सदस्य तथा संगठन विभाग सदस्य जन्म जय तिमिल्सिना, स्वर्गीय गुरुङका आमा तुलसिदेवी गुरुङ, श्रीमती ललिता गुरुङ, छोरा याम बहादुर गुरुङ, छोरीहरु मनिषा गुरुङ, मेघा गुरुङ र तारा गुरुङ, क्षेत्रीय सभापति दिपक जंङ्ग शाह, तरुण विभाग सदस्य सरस्वती शाह, मधुवन नगरपालिका नगरसभापति टेक बहादुर वलि, सह-सभापतिद्वय वलिराम चौधरी, मिन बहादुर थापा, बर्दिया काठमाडौँ संपर्क मञ्चका अध्यक्ष लक्ष्मण पाण्डे, ठाकुरबाबा नगरपालिका नगर सभापति पदम बहादुर खड्का, ठाकुरबाबा नगरपालिका पुर्व नगर सभापति दिपक तिमिल्सिना र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष यमनाथ घिमिरे लगायत कांग्रेस नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
सालिक अनावरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि किशोर सिंह राठौरले भन्नुभयो, "स्वर्गीय दल बहादुर गुरुङलाई तत्कालीन विद्रोही माओवादीले संघातिक आक्रमण गरि हत्या गर्दा हामीसंगै थियौं र आज पनि पीडित परिवारसंगै डटेर उभिएका छौँ । तपाईंहरुले कहिले पनि एक्लो महसुस नगर्नु होला । स्वर्गीय दल बहादुर गुरुङलाई राज्यले शहिद घोषण नगरे पनि नेपाली कांग्रेसले शहिद घोषण गरेको अवस्था छ, स्वर्गीय दल बहादुर गुरुङ्ग प्रति हार्दिक श्रद्धा सुमन छ ।"
कार्यक्रममा बोल्दै कांग्रेस महासमिति सदस्य तथा संगठन विभाग सदस्य जन्म जय तिमिल्सिनाले भन्नुभयो, "समाजमा भएका विकृति विसंगतिका विरुद्धमा आवाज उठाउने नेपाली कांग्रेस तरुण दलका सच्चा वफादार सिपाही भएका कारण स्वर्गीय दल बहादुर गुरुङको हत्या गरियो । तत्कालीन विद्रोही माओवादीले जुन अराजकता अप्नाएको थियो र २०६२/०६३ को आन्दोलन पछि वाईसीएलको नाममा भएको सर्वसत्तावादी प्रवृतिका कारण स्वर्गीय गुरुङको हत्या भएको हो । उहाँप्रती हार्दिक श्रद्दाञ्जली अर्पण गर्दछु ।"
सालिक अनावरण कार्यक्रम नेपाली कांग्रेस प्रदेश क्षेत्रीय कार्यसमिति क्षेत्र नं.-२ (क) बर्दियाका सभापति रामचन्द्र थापाको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन क्षेत्र नं.-२ (क)का सचिव डम्बर के.सी.ले गर्नुभएको थियो।