नेपालगन्ज : विगत दुई वर्षदेखि नेपाली चलचित्र क्षेत्र ठप्प नै छ । कोरोना कहरका कारण बन्द रहेको चलचित्र क्षेत्र विचमा केही समय नयाँ चलचित्र छायांकनको कार्यले थोरै भएपनि चलायमान बनाएको थियो।
तर,कोरोनाको दोस्रो लहरले रिलिज त के छायांकन कार्य पनि ठप्प रह्यो। अन्ततः कोरोनाको दोस्रो कहर विस्तारै सामान्य हुँदै गएपछि नेपाल सरकारले चलचित्र हल खुलाउन केही महिना अघि अनुमति दियो।
चलचित्र हल खोल्न अनुमति पाए पनि केन्द्र लगायत केन्द्र बाहिरका हल भने खुलेनन। अर्थात्, खुलाइएन भन्दा फरक नपर्ला। कारण हो, नयाँ चलचित्र रिलिज नहुनु।त्यसो त, शोभित बस्नेत निर्देशित नयाँ चलचित्र "डाँडाको बरपिपल" रिलिज भने नभएको होइन। तर, महानायक विवादको चपेटामा परेर उक्त चलचित्रले दर्शक त के पानी भन्न समेत पाएन।
अन्ततः नेपाली नयाँ चलचित्र रिलिजमा नआएपनि रोहित सिट्टी निर्देशित बलिउड चलचित्र "सूर्यवंशी" रिलिजमा आउने भएपछि केन्द्र लगायत केन्द्र बाहिरका हलहरु सन्चालनमा आउने भएका छन् ।
यसैबीच, कोरोनाका कारण बन्द रहेको नेपालगन्जको क्युएफएक्स सिनेमाज बागेश्वरी पनि आजबाट सन्चालनमा आउने भएको छ। सुपरस्टार अक्षय कुमार, अजय देवगन, रणवीर सिंह, कट्रीना कैफ लगायतका चर्चित बलिउड कलाकारहरु अभिनित "सूर्यबंशी" आजबाट रिलिजमा आउने भएपछि क्युएफएक्स सिनेमाज बागेश्वरी सन्चालनमा आउन लागेको क्युएफएक्स स्रोतले जनाएको छ।
नयाँ चलचित्र रिलिज हुनेभएपछि नेपालगन्ज लगायत पश्चिमका चलचित्र पारखीहरुलाई राहत पक्कै मिल्नेछ। चलचित्र "सूर्यबंशी" एक्सन थ्रीलर मुभी रहेको बताइएको छ।