पोखरा । चिनियाँ राजदूतावासले पोखराका ४ स्कूललाई प्रविधिमैत्री बनाउने घोषणा गर्दै एक वर्षसम्म निःशुल्क इन्टरनेट र इन्भर्टर सहयोग गरेको छ । नेपाल-चीन जनमैत्री संघ पोखराको समन्वयमा दूतावासले सहयोगको सम्झौता गरेको छ ।
यहाँका जनचेतना मावि, जनजागृति मावि, शिशुकल्याण मावि र भविष्य निर्माण माविमा अनलाइन कक्षा सञ्चालन गर्न मिल्ने गरी इन्टरनेट र अन्य प्रविधि सहयोग गर्ने बताइएको छ । मंगलबार चिनियाँ राजदूत हउ यान्कीले भर्चुअल रुपमा सम्झौता गर्नुभएको हो।
सबै कामका लागि करिब २० लाख खर्च लाग्ने संघका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिनुभयो।
ईन्टरनेटका लागि आवश्यक पर्ने सबै उपकरण मंगलबार नै विद्यालयहरुलाई हस्तान्तरण गरिएको छ । दोस्रो चरणमा थप ४ स्कूललाई पनि सहयोग गरिने बताइएको छ । संघले पोखराका सबै सरकारी स्कूलमा निःशुल्क इन्टरनेट पुर्याउने जनाएको छ ।
राजदूत यान्कीले ईन्टरनेट दूर शिक्षाका लागि महत्वपूर्ण भएको बताउनुका साथै कोभिडका बेला धेरै विद्यार्थी पढ्नबाट वञ्चित भएकाले दूतावासले यसमा जोड दिएको बताउनुभयो ।
‘नेपाल र चीन एक असल छिमेकी र सुख-दुःखको साथी हो । यसलाई कायम राखिराख्न विद्यार्थीले नेपाल-चीन इतिहास पढ्नुपर्छ,’ उहाँले भन्नुुुभयो, ‘नेपाललाई दुःख परेका बेला चीन सधैँ साथमा छ । यो एउटा उदाहरण पनि हो ।’
गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले पोखरालाई शिक्षाको हब बनाउन प्रदेश सरकारको जोड रहेको बताउनुभयो ।