पोखरा । पोखरामा ‘सोन्याज रनवे टिजर फेसन सो’ सम्पन्न भएको छ । काठमाडौंको भोग लस्ट मोडल म्यानेजमेन्टले १० जना मोडललाई हलोविन थिममा रनवेमा उतारेको थियो ।
लेकसाइडस्थित होटल साराको प्रस्तुतीमा भएको फेसन सोमा फेसन डिजाइनर एवं स्टाइलिस्ट हुनुहुन्थ्यो, सोन्या गुरुङ । झण्डै १५ वर्ष फेसन क्षेत्रको अनुभव संगाल्नुभएकि उहाँले मोडलको प्रस्तुतीमार्फत बोक्सी प्रथाको विरोध गर्नुभयो । रनवे मोडललाई भूतका विभिन्न अवतारमा उतार्नुभयो । चार सिक्वेन्समा भएको फेसन सोलाई उहाँ सुरुआत मात्रै मान्नुहुन्छ । ‘यो पोखराका लागि टिजर मात्रै हो,’ उहाँले भन्नुभयो, ‘फेसनको क्षेत्रमा पोखरामा अझैं धेरै गर्न बाँकी छ ।’ पाँच हजार २ सय मोडललाई एउटै ¥याम्पमा उतारेर ‘सोन्याज रनवे रिटन्र्स’ आयोजना गर्ने उहाँको योजना छ । त्यसका लागि स्थान छनोट गरिरहनुभएको छ ।
उहाँले सानैदेखि पसलमा आउने नयाँ ब्रान्डका कपडा अवलोकन गर्नुहुन्थ्यो । बिस्तारै फेसनमा रुची बढ्दै गयो । दुबइमा सेल्स गर्लको रुपमा जाँदा उहाँको डिजाइन रुचाइयो । नेपाल फर्किएर सिर्जनात्मक फेसन सो गर्न थाल्नुभयो । त्यसैको निरन्तरता हो, पोखराको फेसन सो । स्टाइलिस्ट समेत रहनुभएकी सोन्याले चर्चिल सेलिब्रिटीलाई सिंगार्नु भएको छ । प्रेम गीत ३ को टिजरमा देखिएका नायक प्रदीप खड्कालाई उक्त अवतारमा उहाँलेनै उतार्नुभएको हो ।
मिस नेपाल शृंखला खतिवडा, कलाकार नाजिर हुसेन लगायतको स्टाइलिस्ट उहाँ बनिसक्नु भएको छ । थुप्रै सौन्दर्य प्रतियोगिताको निर्णायकका रुपमा देशका विभिन्न सहरमा डुलिसक्नुभएको छ । समाजसेवामा समेत सक्रिय उहाँले विभिन्न अनाथ बालबालिकालाई सहयोग गर्नुभएको छ ।
पोखराको सोन्याज रनवेमा उहाँलाई चर्चित डिजाइनर तेन्जिङ छेतेन भुटियाले साथ दिनुभएको थियो । होस्टको रुपमा समाइरा श्रेष्ठको प्रस्तुती उत्कृष्ट रह्यो । विदेशी मोडल एलिज बायनिकको प्रस्तुतीले दर्शकको ध्यान तानेको थियो । दीक्षा अवस्थी, निष्ठा श्रेष्ठ, योगिता खत्री, मेकअप आर्टिस्ट सरु श्रेष्ठ, रेजिना बस्नेत, कारा श्रेष्ठ, सेजल थापा, रोनी श्रेष्ठ र निशिला शाक्य रनवे मोडलका रुपमा रहेका थिए ।