नेपालगन्ज : दैनिकजसो घाँस दाउरा अनि गोठालो गर्ने बाँके नरैनापुर गाउँपालिका वडा नम्बर ४ पण्डितपुर्वाका लखन गडरियाले गत बिहीबार पनि गाइबस्तु फुकाए र चराउन जंगल लिए।
अन्यदिन दिनभरी गाइबस्तु जंगलमा चराएर साँझ गाइबस्तुसंगै फर्किने लखन गत बिहीबार भने फर्किएनन। लखन मात्रै होइन, एउटा गाई पनि फर्किएन। जसका कारण यता घरमा आतुरी छायो।
घरपरिवार र स्थानीयले यत्रतत्र सबैतिर खोज्यो उनलाई। तर घरपरिवारको सम्पर्कमा आएनन् लखन। घरपरिवारले शनिबार प्रहरीमा उजुरी गर्यो । उजुरी पश्चात् प्रहरीले शनिबार राति लखन गोठाला जाने जंगलभरी लखनलाई खोज्यो।
अन्ततः नरैनापुरको पर्यटकस्थल गोवद्र्धन धामदेखि ५ किलोमिटर पूर्वतिर जंगलमा प्रहरीले लखनलाई मृत अवस्थामा फेला पार्यो। जुन खबरले लखनको परिवारमा सन्नाटा छायो। लखनको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत लखनको पिठ्युँको भाग बाघले खाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको पिँठ्युको भाग बाघले खाएको छ । घाँटी र शरीरका अन्य भागमा नंग्राले कोतरेको पाइएको छ। लखनसंगै बाघले एउटा गाईलाई पनि आक्रमण गरि मारेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयको सहयोगमा लखनको शव फेला परेको प्रहरीको भनाइ छ। लखनको शव पोस्टमार्टमको लागि पठाइएको बताइएको छ।
यसरी, लखनसंगै गाई कहिल्यै नफर्किने गरि बिदा भएपछि लखनको परिवार शोकमा छ यतिबेला। अब नत लखन फर्किने छन् , नत लखनसंगै त्यो गाई।