दाङ : देउखुरीको भालुबांग र धानखोला क्षेत्रबाट नेत्रविक्रम चन्द (विप्लव) समुहका २० जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पूर्वपश्चिम राजमार्गमा गुड्ने सवारी साधनमाथि ढुंगा मुढा गर्ने, बाटो बन्द गर्न खोज्ने, अराजक गतिविधि देखाउन खोजेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो।
प्रमुख काफ्लेका अनुशार जिल्लाको अन्य क्षेत्रमा कुनै पनि अप्रिय घटना घटेको छैन, लामा तथा प्राइभेट सवारी गुडिरहेका छन तर सार्वजनिक यातायात भने ठप्प छन।
लमही क्षेत्रमा जम्मा भएका विप्लव कार्यकर्ताले अटेर गरेर सवारी गुडाउनेलाई पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बिरोधमा आफुहरुलाई सघाउन अनुरोध गरेका छन। नाम नबताउने शर्तमा एक जना विप्लव कार्यकर्ताले भने, "यो बन्द हाम्रा लागि मात्र होइन तपाई हामि सबैका लागि हो त्यसैले आउनुस हामि सबै मिलेर सरकारको बिरोध गरौँ’।"
पेट्रोलियम पदार्थमा हालै भएको मूल्यवृद्धिको बिरोधमा नेत्रविक्रम चन्द (विप्लव) समुहले गरेको नेपाल बन्दका कारण दाङ लगायत देउखुरीका मुख्य बजार सुनसान भएका छन। देउखुरीका लमही, गढवा, भालुबाङ, सिसहनिया बजार पूर्णरुपमा बन्द भएका छन।
सदाकै भरि पैदल यात्री देखिन्छन भने मालबाहक सवारी सडकमा लामबद्द भएर रोकिएका छन। लामा दुरीका सवारीलाई प्रहरीले स्कटिंग गर्दै गन्तव्यमा पुर्याई रहेको छ।