नेपालगन्ज : यस् क्षेत्रकै ठूलो धनराशि सहितको डान्स प्रतियोगिता 'डान्स बाँके डान्स'को केही स्थानमा प्रथमचरणको अडिसन सकिएको छ।
६ वटा स्थानमा हुने अडिसन मध्ये बर्दियाको राजापुर र बाँकेको कोहलपुरमा प्रथम चरणको अडिसन सकिएको आयोजक टिमले जनाएको छ।
जस अन्तर्गत राजापुर अडिसनमा सहभागी ४८ जना मध्ये १८ जना मेगा राउन्डको लागि छानिएका छन् ।त्यस्तै, कोहलपुर अडिसनमा सहभागी ३५ मध्ये १८ जना मेगा राउन्डको लागि छानिएको बताइएको छ।
आयोजक टिमका अनुसार धनगढीमा मंसिर ३ गते, नेपालगन्जमा मङ्सिर ४ गते, दाङमा मङ्सिर ५ गते र गुलरियामा मङ्सिर ६ गते प्रथम चरणका अडिसन हुनेछन् ।
पछिल्लो समय नेपालमा भइरहेका रियालिटी शोको फर्म्याटमा जस्तै यो प्रतियोगितामा पनि "वाइल्ड कार्ड इन्ट्री" व्यवस्था रहेको आयोजक टिमका सदस्य रोहित थापाले बताए।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, आकर्षक गिफ्ट र म्युजिक भिडियो, द्वितीय हुनेलाई २५ हजार , आकर्षक गिफ्ट र म्युजिक भिडियो, तृतीय हुनेलाई १५ हजार र आकर्षक गिफ्ट र चौथो हुनेलाई ७ हजार र आकर्षक गिफ्ट पुरस्कार दिइनेछ।
साथै, प्रतियोगितामा बेस्ट डान्सर पुरस्कारको व्यवस्था समेत गरिएको छ। बेस्ट डान्सरले नगद ३ हजार रुपैयाँ सहित आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । फाइनलमा लोकप्रिय नायक दिलिप रायमाझी, डान्सर आश्मा बिश्वकर्मा, डान्सर सुजन मार्पा, डान्सर सियोन श्रेष्ठ लगायतका कलाकारको उपस्थिति रहने पनि बताइएको छ।