सन्दिप योगी, हरि गुरुङ, बर्दिया । उदाउँदै गरेको सुर्यलाई सबैले नमन गर्छन् नै । कालरात्रीको चिर निद्रालाई चिर्न सुर्य उदाउँनै पर्छ र यो धुर्बसत्य हो । अन्धकार माथिको विजयको प्रतिक हो बिहानिको मिरमिरे घाम ।
सन्दर्भ जोड्न भन्दा अघी बाँधिएको यो भूमिकालाई प्रष्ट पार्ने प्रयाशमा लागेका एक युवा नेता विनय रावलको चर्चा गर्दै छौँ हामी । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका रुपमा राजनीतिक गती लिन खोजेका कांग्रेसका नेता रावलसंग गरिएको साक्षात्कारको बिषयमा लेख्दै छौँ ।
केही मित्रहरुले विनय रावलको चर्चा गरेका थिए । हामी पत्रकार माझ धेरै ब्यक्तिहरुका चर्चा आइपुग्छ नै । फेसबुकका भित्तामा कहिलेकसो रावलले गरेका सामाजिक कार्यहरुको बारेमा जानकारी हामी पत्रकारहरु माझ आउने गर्दथ्यो ।
काठमाडौँमा बसेर बर्दियाका कोभिड पेसेन्टलाई सहयोग गरेको, विद्यालयलाई आर्थिक तथा भौतिक सामाग्रीहरुको सहयोग गरेको, भर्खरै एक क्यान्सर पीडित बालकलाई उपचारमा सहयोग गरेका जस्ता अनेकौँ सामाजिक कृयाकलापका बारेमा सुचना आइरहँदा को हुन त बिनय रावल, किन बर्दिया जिल्लाका आमसर्वसाधारणलाई सहयोग गरिरहेका छन ? यो प्रश्न सर्वत्र उठेका थिए र उठेका छन ।
वास्तवमा सहयोग, साथ र ढाडस मानिसलाई कुनैपनी समयमा कसैलाई पनि चाहिने कुरा हो । फरक यत्ती मात्र हो समयले हामीलाई कुन कित्तामा उब्याएको छ । हामी सहयोग दिने ठाउँमा छौँ या लिने फरक यत्ती नै हो । त्यो समयले निर्धारण गर्ने कुरा ।
रावलले गरेका सामाजिक कार्यलाई कतिले प्रश्न पनि उठाए होलान । आखिर उदेश्य के हो ? हामीलाइपनी लाग्यो कलियुगको यो प्रचण्ड मध्यान्तरमा रावल किन बर्दिया र बर्दियावासीको सम्बर्धनमा लागे ?
ति प्रश्नका उत्तर खोज्ने भाउन्नमा विनय रावलसंग भेट्न हामी लाग्यौँ बर्दियाको गुलरिया बाट करीब ३० किलोमिटर पश्चिम भुरीगाउँ । भुरिगाउँको एक घर भित्र हामीलाई कुरेर बसेका रावलसंग भेट भयो । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले गर्माएको माहोलमा आफ्नो ब्यस्त समय हामीलाई उपलब्ध गराइदिएकोमा आभार प्रकट गर्दै रावलसंग हामीले प्रश्न राख्यौँ ।
प्रश्न थियो - बृद्धअबश्थामा रहेका आमा बुवालाई धार्मिक भ्रमण, विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण, कोभिड १९ को महामारीका बखत अक्सिजन, आइसोलेसन सेन्टरको स्थापना, विपन्न परिवारलाई खाद्यान्न वितरण, वृद्धआश्रमहरुको निर्माण, वन्य जन्तुबाट घाइतेहरुलाई उपचारमा सहयोग, कृषि क्षेत्रमा सिचाइमा सहयोग, काठमाडौंबाट ट्रान्सर्फमर ल्याएर बत्ती किन बाल्नु भयो ? यी र यस्ता सहयोगका बारेमा समाचार आएका हुन्छन, आखिर तँपाइको उदेश्य के ?
मुस्कुराउँदै शालिनता पुर्वक रावलको उत्तर थियो, "उदेश्य आत्मसन्तुष्टि ।"
विनय रावल
मलाई मेरो हृदयलाई गर्व महसुस भयो जब मैले यहाँका आमा बुबालाई लगेर काठमाडौँमा रहेको हिन्दुहरुको आश्थाको केन्द्र पशुपति नाथको दर्शन गराएँ । जब मैले एउटा वस्तीलाई ट्रान्सर्फमर ल्याएर उज्यालो गराएँ त्यो बेला मेरो चित्त उज्यालो भयो । जब मैले क्यान्सर पीडित बालकको पीडा सुने र सहयोग गरेँ त्यसबेला मलाई म बोध भयो चोट केहो भनेर । अन्तिममा मलाई सम्पुर्ण कामले एउटा एउटा सुख दिएर गयो । आज म सन्तुष्ट छु । मेरो चित्त खुशी छ, मेरो आत्मा सन्तुष्ट छ ।
मैले कसैकोलागी सहयोग गरेको होइन । मैले मेरोलागी सहयोग गरेको हो । कुनैबेला म अर्बौं रुपैयाँ लागतको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रोजेक्ट लिएर बसेको थिएँ । तत्कालिन समयमा म एउटा व्यवसायी थिएँ । यी मेरा कामले आज मलाई परिवर्तन गरायो । जीवन केहो र जगत केहो बुझेँ ।
जब म बुझ्दै गएँ तब मेरो सम्पर्कमा बर्दियाका अन्य व्यक्तिहरु जोडिँदै जानुभयो । हामिले टिममा काम गर्न लाग्यौं । हामीले काम गर्दै जाँदा जुन आनन्द अनुभुती भयो, त्यसैले थप उर्जावान गराउँदै लग्यो । आज म र मेरो जीवन परिवर्तन भएको छ । म मात्र होइन मेरा साना छोरीहरु समेत बाबा मेरो टिफिन खाने पैसा बचाएको छु । यसबाट कुनै स्कुलमा सहयोग गरिदिनुहोला भन्छन अनि यहि त हो जीवन । यहि कुराले म अगाडी बढिरहेको छु ।
तँपाइ राजनितीमा आउनुको कारण केहो र तँपाइको भिजन के छ ?
जब मसंग बर्दियाका धेरै मानिसहरु समस्या लिएर आउँदै गर्नुभयो । मैले ब्यक्तिगत रुपमा धेरै कार्यालयहरु धाएँ । ती समस्यामा परेका ब्यक्तिहरुका धेरै कामहरु प्रशासनिक तथा राजनीतिक हुने गर्दथिए । प्रशासनको अनुमति लिनु पर्ने, भन्नुपर्ने, अनुरोध गर्नुपर्ने । जस्तै ट्रान्सर्फमर जोड्नु पर्दा ल्याउँदा प्राधिकरणका कर्मचारीहरुलाई अनुरोध गरेँ । उहाँहरुको सहयोगमा सफलता पुर्वक काम भयो । यस्तै धेरै काम गर्दा प्रश्न आउन थाल्यो तँपाइ को ? म त एउटा व्यवसायी थिएँ तर समयले समाजसेवामा डोर्याउन थाल्यो । धेरै भन्दा धेरैको समस्या गुनासोको समाधान म एउटा व्यवसायी भएर त गर्न सक्दिन । तसर्थ बर्दियाका अग्रज ब्यक्तित्वहरुको सल्लाहमा म राजनीतिमा आएको हुँ ।
मेरो भिजन के हो भने 'हामिले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ?' समाज रुपान्तरण गर्न 'सपना बेचेर' हुँदैन 'सपना साकार' पार्नुपर्छ । अहिलेको सामाजिक सञ्जाल र प्रबिधिको युगमा हामिले राजनितीमा सपना बाँडेर जनताले पत्याउँदैनन बरु एउटा काम गर्नुस तर सफल गराउनुस जनताले साथ दिन्छन ।
म 'ड्रीम सेलिङ्ग' मा नभएर 'डेलिभरी' मा विश्वास गर्छु । त्यसैले म काम गर्न चाहन्छु बर्दियाका जनताको लागि । मेरो उदेश्य समृद्ध बर्दिया हो । हामी पर्यटन, कृषीमा सक्षम हुन सक्छौँ । मेरा योजनाहरु छन र मलाई जनताले आज साथ नदिएपनी म कोसिस छोड्ने छैन । एक न एक दिन जनताले मलाई साथ दिनेछन । तब सम्म आफ्नो लयमा काम गर्छु बर्दियाली जनताका साथमा साथ, काँधमा काँध मिलाएर निरन्तर अनन्त सम्म साथमा हुनेछु ।
हेर्नुहोस मलाई त एयरपोर्टबाट बर्दिया नआइपुग्दै बाटोमै हुँदा बिनय रावलले ६०० मोबाइल ल्याएर बाँड्दै छ रे भन्ने हल्ला आउने र आरोप लाग्ने सम्म भए । मलाई यति ह्युमिलिएट (अपमान) गरियो कि काठमाडौबाट साथीहरुको सहयोगमा बर्दियाका हाम्रा विद्यार्थीका लागि ल्याएको कम्प्युटर समेत बांड्दा लिने मान्छे र विद्यालय भएनन । मलाई अपमान बोध गराउन मञ्चमा बोल्न दिइएन । मलाई भेट्न मानिसहरु लुकेर आउने गर्दथे । तर यी सबै घटनाले मलाई लड्न सिकायो, जिउन सिकायो, हरेस नखान सिकायो ।
विनय रावलले धेरै घटना भनेका थिए, उनले धेरै कामहरु गरेका छन । ती सबै समेट्न अहिले नसकिएपनी समयका अन्तरालमा हामी पत्रकारले समेट्दै गर्नेछौँ नै ।
समग्रमा विनय रावलका बिचार बिद्रोही लाग्यो । शान्त पोखरीमा जसरी ढुंगा खस्दा सम्पुर्ण पोखरी चलायमान हुन्छ त्यसरी नै उनले पुरानो ढर्राको राजनीतिक प्रवृतिमा ढुंगा हान्ने दुस्साहस गरेका छन । उनले आफ्नो बिचार र सोंचलाई नत्यागी लड्दैपड्दै अगाडि बढेमा नेपाली कांग्रेसको उदयमान नेता बन्ने छन । सायद अहिले बर्दियामा उनी जस्तै निडर, अटल र दुस्साहसी युवा नेताको आवश्यकता छ । अर्को सत्य के हो भने उनलाई जनताले आज साथ नदिएपनी उनले जनताको साथ भने छोड्ने छैनन ।