राष्ट्रिय सभा सदस्य पदमा गृहमन्त्री थापा पराजित, स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा विजयी
मकवानपुर । राष्ट्रिय सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा विजयी हुनुभएको छ । नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहर्नुभएको छ ।
देवकोटाले प्रदेशसभा तर्फ खसेको एक सय पाँच मतमध्ये ५८ मत प्राप्त गर्दा थापाले ४५ मत प्राप्त गर्नुभएको थियो । नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले दुई मत प्राप्त गर्नुभएको थियो ।
देवकोटाले स्थानीय तहतर्फ कुल दुई सय ३३ मत खसेकोमा १२८ मत प्राप्त गर्नुभएको थियो भने थापाले एक सय तीन मत प्राप्त गर्दा नेमकिपाका उम्मेदवार तामाङले दुई मत प्राप्त गर्नुभएको थियो ।
देवकोटाले स्वतन्त्र रुपमा उम्मेदवारी दिए पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले नेपाल–खनाल समूहको समर्थन रहेको थियो । स्थानीय तहतर्फ पाँचजना मतदाता मतदान प्रक्रियामा सहभागी हुनुभएको थिएन । निर्वाचन आयोगका अनुसार ११९ पालिकातर्फ २३८ मतदाता रहेकोमा २३३ जना मतदाताहरु मतदानमा सहभागी हुनुभएको थियो ।
प्रदेशतर्फ एकमत बराबर ४८ मतभार र स्थानीयतर्फ एक मत बराबर १८ मतभार रहेको छ । जसअनुसार देवकोटाले कुल प्रदेशतर्फ २७८४ मतभार र स्थानीयतर्फ २३०४ मतभार गरी कुल ५०८८ मतभार प्राप्त गर्नुभएको छ भने थापाले प्रदेशतर्फ २१६० र स्थानीय तहतर्फ १८५४ गरी कुल ४०१४ मतभार प्राप्त गर्नुभएको थियो । त्यस्तै नेमकिपाका तामाङले प्रदेशतर्फ ९६ र स्थानीय तहतर्फ ३६ गरी कुल ८४ मत भार प्राप्त गर्नुभएको छ ।
बिहीबार बिहान नौ बजेबाट हेटौंडा–४ स्थित भुटनदेवी उमाविमा सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । आयोगका अनुसार राष्ट्रिय सभा सदस्यका लागि चारजना प्रदेश सांसदले मतदान गर्नुभएको थिएन ।
वाग्मतीमा रहेका १०९ सांसदमा १०५ जनाले भोट हाल्नु भएको थियो । ११० सदस्यीय प्रदेश सभाका पशुपति चौलागाईंको निधन भएपछि १०९ कायम भएको थियो ।