हरि गुरुङ, सन्दिप योगी, बर्दिया । मतदाता नामावली संकलन विशेष कार्यक्रम, २०७८ सम्बन्धी सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला निर्वाचन कार्यालय, बर्दियाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बर्दियामा गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरु संग मतदाता नामावली संकलन सम्बन्धि जानकारी साझा गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष शंकर प्रसाद थारुले सबैको समन्वय भएमा सहज, सरल र कोहि नछुट्ने तरिकाले मतदाता नामावली संकलन कार्य हुने बताउनुभयो ।
त्यस्तै जिल्ला निर्वाचन अधिकारी बुद्धि बहादुर खत्रीले निर्वाचन कार्यालयले जिल्ला बाहिरबाट बर्दियामा आएका नेपालीहरुले समेत बर्दियाबाटै आफ्नो जिल्लाकोलागी मतदाता नामावली दर्ता गर्न सकिने बताउनु भयो ।
त्यस्तै नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले सबै सरोकारवाला पक्षहरुले निर्वाचन कार्यालयलाई सहयोग गर्नुपर्ने धारणा राख्दै भन्नुभयो, "मिडिया, पत्रकार सञ्चारमाध्यमहरुले आ-आफ्नो स्थानबाट जनचेतना फैलाउन सहयोग गरिरहेका छन, मिडायाले आफ्नो ठाउँबाट सहयोग साथ दिन्छ ।"
उहाँले सबै राजनितिक दलको गाउँगाउँ सम्म पहुँच हुने भएकाले विशेष गरि दलका नेता तथा कार्यकर्ताहरुले जनचेतना फैलाउँदै मतदाता नामावली संकलन गर्न सहयोग गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले मतदाताहरु लोकतन्त्रका मेरुदण्ड भएकाले कोहिपनी नछुट्नेगरी निर्वाचन आयोगले काम गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले जिला बाहिर काम गर्न गएका मजदुरहरुलाई समेट्न के कस्तो प्रक्रिया अपनाउनु पर्ने हो आफुहरुले पहल गर्ने बताउनुभयो ।
सरोकारवालाहरुले जिला बाहिर काम गर्न गएका मजदुरहरुको नाम, विदेशमा काम गर्न गएका नेपाली जनताको नाम छुट्न नहुने बारे ध्यानाकर्षण गराएका थिए । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्की, सशस्त्र प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक नरबहादुर रावत लगायत वभिन्न राजनीतिक दलका नेताहरु, संघ संस्थाहरुको सहभागीता रहेको थियो ।