धादिङ । बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङको नौवटा बच्चा छन् । ज्यालामजदुरी गरेर मात्र परिवार पालेको चेपाङ परिवारको ६ जना बच्चा विद्यालय जान्छन् बाँकी भने मेलापात गरेर बसेका छन् ।
खरले छाएको सानो छाप्रोमा आगो बालेर गुन्द्रीको भरमा रात काट्ने चेपाङ परिवारका बच्चाहरु विद्यालय पुगेर खाजा खान पाउँछन् भने घरमा बस्नेहरु ज्याला गरेको दिनमा खाना खाने गरेको उहाँको भनाइ छ । आफ्नो बारी छैन । भएको थोरै खोरियामा दुई महिनालाई पुग्ने अन्न फल्दैन । बाँकी समय हामी त भोकै हो । हामी गरिबलाई कसले हेर्छ र ? कालीबहादुरको भनाइ छ ।
मैलो फाटेका केही पुराना लुगाको भरमा वर्षाैं काटेका चेपाङ परिवारका बालबच्चा गाउँ नजिकै रहेका विद्यालयमा जाँदासमेत पुरानो लुगा खाली खुट्टामा जाने गरेको देखिन्छ ।
सिमथलीमा रहेको प्रजा आधारभूत विद्यालयमा आउने विद्यार्थीहरुको अवस्था हेर्ने हो भने पनि उस्तै छ । अधिकांश विद्यार्थी भोकै विद्यालय आउँछन् । विद्यालय आएपछि खाजा बनाउने ठाउँ हेर्छन् र दिउँसोको खाजाको पर्खाइमा बस्छन् । अघिल्लो दिनको खाजाले भोक लागेका विद्यार्थी छट्पटिएर शौचालय जाने बहानामा खाजा बनाएको हेरेर कक्षामा फर्कने गरेको टिठलाग्दो दृश्य हरेक दिन देख्न सकिने विद्यालयका शिक्षक अप्सरा मैनालीले बताउनुभयो ।
गत वर्ष विद्यालयमा आउने विद्यार्थीहरुको अवस्था नाजुक भएका कारण काठमाडाँैका समाजसेवी राधा श्रेष्ठले संयोजन गरी कपडा र स्टेसनरी वितरण गरिएको थियो तर एक वर्ष भइसक्दा पनि उनीहरु त्यही पुरानो कपडा र फाटेको जुत्तामा विद्यालय आउनु उनीहरुको नियमितता भइसकेको छ ।
विद्यालय आउने तर घरमा अभिभावक नहुनेहरु झनै समस्यामा रहेका छन् । नियमित विद्यालय आउने ६ वर्षीय डेप चेपाङ र ८ वर्षीय कमल चेपाङको आमाले घर छाडेर हिँडेको लामो समय भयो । बाबु घरमै आउँदैनन् । ज्याला गर्न गएर १०÷१५ दिनमा फर्किन्छन् । मामाघरमा हजुरआमासँग बसेका उनीहरुको हालत खराब छ । विद्यालयको खाजामा जीवन चलेको छ । लगाउने लुगा छैन । जाडोको सिरेटोले काम्दै विद्यालयको दृश्य नरमाइलो किसिमको हुने गरेको शिक्षक मैनालीको भनाइ छ ।
प्रजा आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये करिब २५ प्रतिशत हरेक दिन विद्यालयको खाजा खान पाइन्छ भनेर आउने गरेका छन् भने करिब ७५ प्रतिशत विद्यार्थी खाली खुट्टामा र विद्यालय पोशाक नलगाई विद्यालय आउने गरेका उहाँको भनाइ छ ।
घरमा खाने अन्न नभएका चेपाङ समूदायको बसोबास रहेको सिमथलीमा ७० घर छन् । छाप्रा बनाएर बसेको गाउँमा र विद्यालयमा खानेपानीसमेत छैन । विकासको सबै पूर्वाधारको पहुँचबाट टाढा रहेको सिमथलीवासीका लागि आयआर्जनको कुनै उपाय नभएपछि गाउँवासी ज्याला मजदूरी गर्न गाउँ छाडेर हिँड्ने र केही मानिस बच्चा भएकाले गाउँमै बसेर एक छाकको भरमा जीवन निर्वाह गरिरहेको कष्टकर जीवन देख्न सकिन्छ ।
बबुलाई खोलाले बगाएर मृत्यु भएपछि कठिन सङ्घर्ष गरेर बाँचिरहेका ११ वर्षीया मनमायाँ चेपाङ र १४ वर्षीय सन्तोष चेपाङको अवस्था झनै कठिन छ । घरमा केही नभएपछि कठिन जीवन बिताइरहेको चेपाङ परिवारको कथा जस्तै लागे पनि यो वास्तविकता नयाँ स्थानीय सरकार बनेपछि पनि गरिबहरुले एक छाक खानसमेत उस्तै अवस्था छ ।
नेताहरु भोट माग्न गाउँ आउँछन् के के गर्छौं भने पनि अवस्था भने अझैसम्म चेपाङ समुदायको परिवर्तन भएको छैन ।