देउवालाई प्रधानमन्त्री दाबी गरिएको पत्र दर्ता, बहुमत आफ्नो रहेको भन्दै प्रधानमन्त्रीमा ओलीको पनि दाबी
काठमाडौँ । नेपाली कांग्रेस, माओवादी, जसपा र एमालेको माधवकुमार नेपाल समूहसहितको सभापति देउवालाई प्रधानमन्त्री दाबी गरिएको १४९ सांसदको हस्ताक्षरसहितको पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएपछि १४९ जना सांसदको हस्ताक्षर बोकेर सरकारको दाबी गर्न विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपतिलाई भेट्न पुग्नुभएको थियो ।
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी गर्दै १४९ जना सांसदको पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । एमाले नेता माधव कुमार नेपाल समेतका नेताहरुले राष्ट्रपतिलाई भेटेर बहुमत हस्ताक्षर सहितको दाबी दर्ता गराउनुभएको छ ।
राष्ट्रपतिले संविधान र कानून हेरेर विज्ञहरुसित सल्लाह गरेपछि निर्णय गर्क्छु भनेको नेपाली कांग्रेसका एक नेताले बताउनुभयो ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूसँग एमालेका १२१ सहित १५३ सांसदको साथ रहेको बताउँदै प्रधानमन्त्रीमा पुनः दाबी गर्नुभएको छ ।
नेकपा एमाले संसदीय दलका नेता समेत रहनुभएका केपी शर्मा ओलीले १५३ जना सांसदको आफूलाई समर्थन रहेको जानकारीसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेस गर्नुभएको हो ।